भदौ २४ को आन्दोलनबारे प्रचण्ड भन्छन् : ‘यस्तो नियोजित विध्वंसको अर्को उदाहरण छैन’

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको बहुआयामिक अनुसन्धान गर्न माग गरेका छन् ।

भदौ २४ को घटनालाई नेपालको इतिहासकै गम्भीर र रहस्यमय घटना भन्दै दाहालले त्यसका वास्तविक दोषी पहिचान गरी तथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन् । उनका अनुसार सयौँ वर्षमा निर्माण भएका ऐतिहासिक धरोहर, राजनीतिक दलका कार्यालय, सरकारी संरचना तथा निजी भवन केही घण्टामै ध्वस्त पारिनु गम्भीर अनुसन्धानको विषय हो ।

दाहालले घटनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयामसमेत रहेकाले सुरक्षा निकाय, राजनीतिक नेतृत्वलगायत घटनासँग जोडिएका सबै पक्षको निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताएका छन् ।

एक वर्ष बितिसक्दा पनि घटनाको सत्यतथ्य बाहिर ल्याउन अपेक्षित काम हुन नसकेको उनको आरोप छ । राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनसमेत कार्यान्वयनमा नलगी दराजमा थन्क्याइएको उनले बताएका छन् ।

दाहालले भदौ २३ गते युवाहरूले सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि उठाएको आवाज र भोलिपल्ट भएको विध्वंसलाई फरक रूपमा बुझ्नुपर्ने बताए । भदौ २४ को घटनाले युवाहरूको भावना र आकांक्षालाई प्रतिनिधित्व नगरेको उनको भनाइ छ ।

उनले भदौ २४ को घटनालाई नेपालको राष्ट्रिय स्वाधीनतामाथि सुगौली सन्धिपछिको सबैभन्दा ठूलो संकटका रूपमा व्याख्या गरेका छन् । घटनाले संविधान, लोकतन्त्र र नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि गम्भीर प्रश्न उठाएको दाहालको भनाइ छ ।

दाहालले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने र संविधान, लोकतन्त्र तथा राष्ट्रिय स्वाधीनता सुदृढ गर्न सबै राजनीतिक शक्ति र नेपाली जनता एकजुट हुनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?