बाढीपीडितलाई घिउ तेल उत्पादक संघको १ करोड १ लाख रुपैयाँ सहयोग

लोकपथ
49
Shares

काठमाडौं । नेपाल वनस्पति घिउ तेल उत्पादक संघले बाढीपहिरो प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

संघले बुधबार बैठकमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

संघले हालै चीनको सिजाङ (तिब्बत) क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र पूर्वी नवलपरासी लगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

बाढीपहिरोमा परी धेरै नागरिकको मृत्यु, बेपत्ता तथा घाइते हुनुका साथै सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै संघले प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गरेको छ ।

संघका अनुसार सदस्य उद्योगहरूबाट एकमुष्ट १ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ । प्रभावित परिवारलाई तत्काल राहत, घाइतेको उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउन सरकार र सम्बन्धित निकायलाई पनि संघले आग्रह गरेको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा समेत राहत तथा सहयोगका कार्यक्रममा निरन्तर सहभागी हुने प्रतिबद्धता संघले जनाएको छ । साथै, सबै पक्षको सहकार्य र सहयोगबाट मात्रै प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाले गति लिन सक्ने संघको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?