९० दिनका लागि १८ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

लोकपथ
21
Shares

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज भदौ १८ गते १८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

राष्ट्र बैंकले ९० दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ । निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागी हुन पाउनेछन् । बोलकबोल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सक्नेछन् । बोलकबोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार यस उपकरणको साँवा तथा ब्याज आगामी मंसिर १६ गते भुक्तानी गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?