काठमाडौं । नेपाली बजारमा लोकप्रिय बनेको डोङफेङ नामी बक्स ईभीको मूल्य घटेको छ ।
आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ठूलो ब्याट्री भेरियन्टको मूल्य ३ लाख २६ हजार रुपैयाँले घटाएको हो ।
नाडा अटो शो २०२६ मा सार्वजनिक हुँदा ठूलो ब्याट्री भेरियन्टको मूल्य ३६ लाख २५ हजार रुपैयाँ थियो । अब भने यसको मूल्य घटेर ३२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । कम्पनीले दुवै भेरियन्टमा थप १ लाख रुपैयाँसम्म नगद छुटको योजना पनि ल्याएको छ ।
मूल्य घटाएसँगै कम्पनीले नयाँ मोडलमा केही महत्वपूर्ण सुविधा थप गरेको छ । नयाँ नामी बक्समा सुरक्षाका लागि ६ वटा एयरब्याग राखिएको छ । यसअघि उपलब्ध मोडलमा दुईवटा मात्रै एयरब्याग थिए ।
त्यस्तै, इन्फोटेनमेन्ट सिस्टममा डार्क मोड, इनबिल्ट एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा थप गरिएको छ ।
तर, मूल्य घटाउन अघिल्लो मोडलमा रहेका केही फिचर भने हटाइएको छ । नयाँ मोडलमा अटो पार्किङ, एम्बियन्ट लाइटिङ र एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) उपलब्ध छैन ।
बिक्रेता कम्पनीका अनुसार नेपाली सडकको अवस्था र उपभोक्ताको वास्तविक आवश्यकतालाई ध्यानमा राखेर कम प्रयोग हुने फिचर हटाइएको हो ।
नामी बक्स सुरुमा ७० किलोवाटको मोटरसहित नेपाली बजारमा आएको थियो । अहिले भने यो ५० किलोवाटको मोटरसहित बिक्री भइरहेको छ । यसमा ३१.४ किलोवाट आवर र ४२.३ किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध छन् ।
सानो ब्याट्रीले डब्लूएलटीपी मापदण्डअनुसार २३७ किलोमिटर र ठूलो ब्याट्रीले ३१७ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
मूल्य घटेसँगै नामी बक्स ३० लाख रुपैयाँ आसपासको ईभी बजारमा थप प्रतिस्पर्धी बन्ने देखिएको छ । कम मूल्य, राम्रो रेन्ज र थप सुरक्षा सुविधाका कारण यसले उपभोक्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया