डेपुटी गभर्नर  दीर्घबहादुर रावलको सम्पत्ति विवरण सार्वजनिक, के-के छ सम्पत्ति ?

लोकपथ
392
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले भदौ ३ गते रावललाई राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डेपुटी गभर्नरमा नियुक्त गरेको थियो ।

सार्वजनिक विवरणअनुसार रावल र उनको परिवारका नाममा घरजग्गा, बैंक मौज्दात, सुनचाँदी, सेयर, सवारीसाधन तथा बीमालगायतका सम्पत्ति छन् ।

रावलकी श्रीमतीको नाममा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२, दिव्यश्वरी प्लानिङमा १९१ वर्गमिटर क्षेत्रफलमा बनेको घर छ । उक्त घर २०७७ फागुनमा १ करोड ८० लाख रुपैयाँमा खरिद गरिएको हो। घर खरिदका लागि बैंक ऋण, स्वआर्जन र पुरानो घरजग्गा बिक्रीबाट प्राप्त रकम प्रयोग गरिएको रावलले उल्लेख गरेका छन् ।

रावलकी आमाको नाममा कैलालीको टीकापुर र अछामको बान्नीगढी जयगढमा घर तथा जग्गा रहेको छ । यीमध्ये अधिकांश सम्पत्ति पैतृक स्रोतबाट प्राप्त भएको विवरणमा उल्लेख छ ।

रावलका विभिन्न बैंक खातामा ११ लाख ४९ हजार २१४ रुपैयाँ मौज्दात छ। यसबाहेक १४ हजार अमेरिकी डलर पनि रहेको छ । श्रीमतीको नाममा बैंक तथा वित्तीय संस्थामा ३ लाख ८४ हजार ९२७ रुपैयाँ रहेको छ । रावलसँग ४० हजार रुपैयाँ नगद रहेको पनि विवरणमा उल्लेख छ ।

रावलको परिवारसँग २५ तोला सुन र २ किलो चाँदी रहेको छ । करिब १ लाख रुपैयाँ मूल्यको हिराको औँठी पनि परिवारसँग रहेको जनाइएको छ ।

रावलको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाका ७७० कित्ता साधारण सेयर छन् । श्रीमतीको नाममा बैंक तथा वित्तीय संस्थाका २७ हजार ५६७ कित्ता सेयर छन् । त्यस्तै, बीमा कम्पनीका १३० कित्ता, जलविद्युत् कम्पनीका २ हजार ३७९ कित्ता र डिस्टिलरी कम्पनीका १ हजार कित्ता सेयर रहेको छ ।

रावलका छोराछोरीको नाममा पनि बैंक तथा वित्तीय संस्था र जलविद्युत् कम्पनीका सेयर रहेको विवरणमा उल्लेख छ ।

सम्पत्ति विवरणमा रावलले नेपाल राष्ट्र बैंक कर्मचारी विनियमावलीअनुसार आफूले ५० लाख रुपैयाँसम्म कर्जा तथा सापटी सुविधा लिन सक्ने व्यवस्था रहेको उल्लेख गरेका छन्। रावल तथा परिवारका सदस्यको नाममा विभिन्न बीमा र अवकाश कोषमा रकमसमेत रहेको छ ।

समग्रमा रावल परिवारको अचल सम्पत्तिमा पैतृक सम्पत्तिको हिस्सा ठूलो देखिएको छ। पछिल्लो पटक खरिद गरिएको भक्तपुरको घर भने बैंक ऋण, स्वआर्जन र पुरानो सम्पत्ति बिक्रीबाट प्राप्त रकमबाट खरिद गरिएको विवरणमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?