काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले अगस्ट महिनामा यात्रुवाहक कार बिक्रीमा उल्लेखनीय वृद्धि गरेको छ ।
कम्पनीका अनुसार सन् २०२६ अगस्टमा भारत र अन्तर्राष्ट्रिय बजारमा गरी ६७ हजार ७५३ युनिट यात्रुवाहक कार बिक्री भएको छ । यो गत वर्षको अगस्टको तुलनामा ५६.४२ प्रतिशत बढी हो । गत वर्षको सोही महिनामा कम्पनीले ४३ हजार ३१५ युनिट कार बिक्री गरेको थियो ।
टाटा मोटर्सले अगस्टमा भारतमा मात्रै ६५ हजार २५३ युनिट कार बिक्री गरेको छ। गत वर्ष अगस्टमा ४१ हजार १ युनिट बिक्री भएकाले भारतीय बजारमा कम्पनीको बिक्री ५९.१५ प्रतिशतले बढेको हो ।
त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा पनि टाटाको कार बिक्री बढेको छ । कम्पनीले अगस्टमा २ हजार ५०० युनिट कार निर्यात गरेको छ । गत वर्ष सोही महिनामा २ हजार ३१४ युनिट कार निर्यात गरेको थियो । यसअनुसार निर्यात ८।०४ प्रतिशतले बढेको छ।
टाटा मोटर्सको बिक्रीमा सबैभन्दा ठूलो वृद्धि विद्युतीय सवारीसाधन (ईभी) मा देखिएको छ । अगस्टमा कम्पनीले १६ हजार ५४९ युनिट ईभी बिक्री गरेको छ । यो टाटा मोटर्सको एकै महिनामा भएको अहिलेसम्मकै उच्च ईभी बिक्री हो ।
गत वर्ष अगस्टमा कम्पनीले ८ हजार ५४० युनिट ईभी बिक्री गरेको थियो। यस वर्ष ईभी बिक्री ९३.७८ प्रतिशतले बढेको छ । कम्पनीले लगातार दोस्रो महिना १५ हजारभन्दा बढी ईभी बिक्री गरेको हो ।
टाटा मोटर्सले पछिल्लो समय नयाँ तथा अपडेटेड ईभी मोडल बजारमा ल्याउँदै आएको छ। कम्पनीले जनवरीमा पन्च ईभी फेसलिफ्ट, जुनमा सियरा ईभी र अगस्टमा टियागो ईभी फेसलिफ्ट बजारमा ल्याएको थियो ।
कम्पनीको ईभी लाइनअपमा टिगोर, नेक्सन, कर्भ र ह्यारियर ईभीलगायत मोडल रहेका छन् । नयाँ मोडल थपिएसँगै टाटा मोटर्सले भारतीय ईभी बजारमा आफ्नो बिक्री र बजार हिस्सा बढाउँदै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया