बाढी प्रभावितका लागि नाडाले १० लाख रुपैयाँ सहयोग गर्ने

लोकपथ
0
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

नाडाले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै नाडाले दुःख व्यक्त गरेको छ ।

नाडाले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

नाडाले विपद्को समयमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अटोमोबाइल व्यवसायीहरूलाई पनि उद्धार, राहत र पुनःस्थापनाका काममा सहकार्य गर्न आग्रह गरेको छ ।

सुरक्षा निकाय र स्थानीय प्रशासनले गरेको उद्धार तथा राहत कार्यको नाडाले प्रशंसा गरेको छ । साथै, प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापनमा निजी क्षेत्रलाई समेत सहयोग गर्न गरेको आह्वानको नाडाले स्वागत गरेको छ ।

बाढीका कारण चुनौतीपूर्ण अवस्था रहे पनि देशको आर्थिक गतिविधिलाई चलायमान राख्न नाडा अटो शो २०२६ भने निरन्तर सञ्चालन हुने नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीले जानकारी दिए ।

नाडाले सरकार, निजी क्षेत्र, व्यवसायी र आम नागरिक सबै मिलेर विपद् प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्निर्माणमा सहयोग गर्न अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?