सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस् : रवि लामिछाने

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्का बेला हुने ‘भीआईपी मुभमेन्ट’ले सुरक्षा निकायलाई थप चुनौती हुने भन्दै आफू र आफ्नो दलका सांसदका लागि विशेष सुरक्षा व्यवस्था नगर्न आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले अत्यावश्यक अवस्थाबाहेक आफू प्रभावित क्षेत्रमा नजाने र सरकारलाई प्रभावकारी रूपमा काम गर्न भूमिका खेल्ने बताए ।

प्रभावित क्षेत्रमा पुग्नुपर्ने अवस्था आए पनि आफू र पार्टीका सांसदले अतिरिक्त सुरक्षा तथा सरकारी सुविधा नलिने उनले स्पष्ट पारे । प्रशासनको काममा कुनै किसिमको बाधा नपुर्‍याउने उनको भनाइ छ ।

‘विपद्का बेला भीआईपी मुभमेन्टले सुरक्षाकर्मीका लागि चुनौती सिर्जना गर्छ । म र मेरो दलका सांसद फिल्डमा जाँदा सुरक्षाकर्मीले कुनै चिन्ता लिनुपर्ने छैन,’ उनले भने, ‘हामीलाई अतिरिक्त सुरक्षा र सेवा आवश्यक छैन । व्यक्तिगत रूपमा जानेछौँ र प्रशासनको काममा कुनै दखल दिइने छैन ।’

लामिछानेले विपद्का बेला महिला, गर्भवती, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा दलित र अन्य सीमान्तकृत समुदाय बढी प्रभावित हुने गरेको भन्दै उद्धार तथा राहतमा उनीहरूलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराए ।

उनले प्रभावित क्षेत्रमा सञ्चार सेवा सहज बनाउन सरकारले चालेका कदमको पनि स्वागत गरे । ब्यालेन्स नभए पनि फोन गर्न सकिने तथा प्रभावितलाई डेटा सेवा उपलब्ध गराउने विषयमा सरकार सचेत रहेको जानकारी आफूले पाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?