प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की

लोकपथ
0
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानूनले दिएको अधिकारमा मात्र नभई नागरिकले गर्ने विश्वासमा पनि निहित रहेको बताएका छन् ।

सोमबार काठमाडौंको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरीलाई प्रविधिमैत्री, पारदर्शी, व्यावसायिक र नागरिकप्रति उत्तरदायी संगठनका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।

आईजीपी कार्कीले साइबर तथा डिजिटल अपराध, अन्तरदेशीय अपराध र विपद् व्यवस्थापनजस्ता बदलिँदा सुरक्षा चुनौतीको प्रभावकारी सामना गर्न प्रहरीको कार्यशैलीमा सुधार गर्नुपर्ने बताए । सूचना प्रविधि, डिजिटल प्रणाली र कृत्रिम बौद्धिकता ९एआई० को विवेकपूर्ण प्रयोग गर्दै मानवअधिकार, कानूनी प्रक्रिया र व्यावसायिक विवेकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।

प्रहरी कर्मचारीले व्यक्तिगत धारणा, बाह्य प्रभाव तथा अनुचित दबाबबाट मुक्त भई कानूनको निष्पक्ष कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । कानून कार्यान्वयन गर्नु मात्र पर्याप्त नहुने भन्दै उनले त्यसको प्रक्रिया पनि पारदर्शी, सम्मानजनक र जवाफदेही हुनुपर्ने बताए ।

‘नागरिकले प्रहरीको निर्णयसँग असहमति जनाए पनि प्रहरीको व्यवहार निष्पक्ष रहेको अनुभूति गर्ने वातावरण निर्माण गर्नुपर्छ,’ उनले भने ।

उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहसँग सम्बन्धित घटनामा विशेष संवेदनशीलता अपनाउन निर्देशन दिए । यस्ता घटनामा गोपनीयता कायम राख्दै पीडितकेन्द्रित दृष्टिकोणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

नेपाल प्रहरी संविधान र प्रचलित कानूनप्रति प्रतिबद्ध, निष्पक्ष तथा व्यावसायिक संगठन भएको उल्लेख गर्दै आईजीपी कार्कीले नागरिकको विश्वास कायम राख्न प्रत्येक प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताए ।

दीक्षान्त समारोहमा व्यावसायिक तालिम पूरा गरेका प्रहरी निरीक्षकहरूलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरीलाई नागरिकको सहयोगी र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्न मातहतका कर्मचारीलाई निर्देशनसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?