काठमाडौं । कुमारी बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) बीच हरित उद्यमको विकास र वित्तीय पहुँच विस्तारका लागि समझदारी भएको छ ।
समझदारीपत्रमा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले हस्ताक्षर गरेका हुन् ।
यस सहकार्यअन्तर्गत सूक्ष्म उद्यमी, कृषक, युवा उद्यमी तथा हरित अर्थतन्त्रमा काम गरिरहेका व्यवसायलाई वित्तीय सेवा र व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराइनेछ ।
हरित उद्यम र हरित मूल्य शृङ्खलामा आधारित व्यवसायलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने विषयलाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।
कुमारी बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलले हरित उद्यम सञ्चालन गरिरहेका व्यवसायीलाई आर्थिक स्रोतसँगै व्यवसाय सञ्चालनका लागि आवश्यक क्षमता विकासमा समेत सहयोग गर्ने बताए ।
उनले कुमारी बैंकको वित्तीय अनुभव र हेल्भेटास नेपालको उद्यम विकाससम्बन्धी अनुभवलाई जोडेर हरित व्यवसायलाई थप बलियो बनाउन सकिने बताए। यसबाट रोजगारी सिर्जना, नयाँ व्यवसायको विकास र स्थानीय आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सहकार्यले उद्यमी, कृषक, वित्तीय संस्था तथा हरित मूल्य शृङ्खलामा संलग्न अन्य पक्षबीच सहकार्य बढाउने लक्ष्य राखेको छ । साथै, उद्यमीले प्राप्त वित्तीय स्रोतलाई प्रभावकारी रूपमा प्रयोग र व्यवस्थापन गर्न सक्ने क्षमता विकासमा पनि जोड दिइनेछ ।
कुमारी बैंकले आफ्ना २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १ हजार २३३ भन्दा बढी पीओएस टर्मिनलमार्फत यस्तो सेवा लक्षित समुदायसम्म पुर्याउने जनाएको छ ।
बैंकका अनुसार हेल्भेटास नेपालसँगको सहकार्यले हरित उद्यमको विकास, रोजगारी सिर्जना र जलवायु–उत्थानशील आर्थिक प्रणाली निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया