काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाश पाठकले जेनजी आन्दोलनका घाइते तथा मुद्दा लागेका युवालाई न्यायको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् ।
उनले उपचार, क्षतिपूर्ति र दीर्घकालीन व्यवस्थापनको माग गर्दै झापामा जेनजी आन्दोलनका घाइतेहरू ६ दिनदेखि आमरण अनसनमा बसेको उल्लेख गर्दै उनीहरुका माग तत्काल सम्बोधन गर्न समेत सरकारसँग माग गरे ।
उनले एउटै आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्ने तर बाँचेकामाथि मुद्दा चलाउनु उचित नहुने दाबी गरे ।
उनकाअनुसार गत वर्षको भदौ अन्तिम साता भएको जेनजी आन्दोलनको क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो भने १ सय ८ जना घाइते भएका थिए ।
घाइतेमध्ये ४३ जनाले मात्र परिचयपत्र पाएको बताउँदै उनले जेनजी आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरी मुद्दा लागेका युवालाई सरकारले आवश्यक सहयोग र संरक्षण दिनुपर्ने उनको माग छ ।
उनले भने, ‘जेनजी आन्दोलनका घाइतेहरुले उपचार, क्षतिपूर्ति र दीर्घकालीन व्यवस्थापनको माग राख्दै ६ दिनदेखि झापामा अनसन शुरु गरेका छन् । पेटमा गोली लागेका तथा आन्दोलनमा गम्भीर घाइते भएका जेनजी युवाहरु परिचय पत्रको व्यवस्था र निःशुल्क शिक्षा लगायत माग राखी आमरण अनसनमा बसेका हुन् । झापामा जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर गोपाल सेढाइँ र दिनेश राजवंशीको निधन भएको थियो । १ सय ८ जना घाइते भएका थिए । घाइतेमध्ये ४३ जनाले मात्र परिचय पत्र पाएका छन् । सभामुख महोदय एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी हुन सक्छन् ? जेनजी आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गरेर मुद्दा लागेका युवाहरुलाई ढाडस दिन सरकारले किन सकिरहेको छैन ? म सरकारलाई सोध्न चाहान्छु जेनजी आन्दोलनका घाइते तथा मुद्दा लागेकाहरुले न्याय पाउँछन् कि पाउँदैनन् ?’
जेनजी आन्दोलनका घाइते तथा मुद्दा लागेकाहरूले न्याय पाउँछन् कि पाउँदैनन् ? उनको प्रश्न छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया