कर्णालीमा सिटिजन्स बैंकको रणनीतिक वृद्धि समीक्षा सेमिनार सम्पन्न

लोकपथ
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशमा ‘ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्सः परफर्मेन्स एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यू–कर्णाली प्रोभिन्स २०८३/८४’ विषयक सेमिनार आयोजना गरेको छ ।

बैंकका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृतलगायत वरिष्ठ कार्यकारीको उपस्थिति थियो ।

कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताबारे छलफल गरिएको बैंकले जनाएको छ । केन्द्र र प्रदेशबीचको सहकार्य थप सुदृढ गर्ने विषयमा पनि कार्यक्रममा अन्तरक्रिया भएको थियो ।

कर्णाली प्रदेशका ८ जिल्लामा बैंकका ११ वटा शाखा सञ्चालनमा रहेका छन् ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप संकलन ९.२२ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

सो अवधिमा बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

बैंकले ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको जनाएको छ । यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो ।

बैंकले पछिल्लो समय युवालाई लक्षित गर्दै ‘सिटिजन्स जेनजी सेभिङ अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । त्यस्तै, फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेविङ अकाउन्ट’ पनि सुरु गरेको छ ।

बैंकले मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन तथा सीआरएन नम्बर लिन सकिने सुविधा र क्रस बैंक टेलर सुविधा पनि सञ्चालनमा ल्याएको जनाएको छ । क्रस बैंक टेलर सुविधामार्फत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?