७० अर्बको तिला-२ आयोजनामा एभरेस्ट बैंकसहित कुन-कुन बैंकले गरे लगानी ?

लोकपथ
21
Shares

काठमाडौं । कर्णालीमा निर्माण हुने ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाले निर्माणका लागि आवश्यक लगानीको ठूलो हिस्सा जुटाएको छ ।

आयोजना प्रवर्द्धक तिला पावर कम्पनीले बैंक तथा वित्तीय संस्थासँग वित्तीय व्यवस्थापन सम्झौता गरेपछि आयोजना निर्माणको बाटो थप सहज भएको हो ।

कालीकोटमा निर्माण हुने आयोजनाको कुल लागत ७० अर्ब ७ करोड रुपैयाँ अनुमान गरिएको छ । यसको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लिइनेछ भने बाँकी १७ अर्ब ५२ करोड रुपैयाँ स्वपुँजीबाट जुटाइनेछ ।

आयोजनाका लागि एभरेस्ट बैंकको नेतृत्वमा लगानी जुटाइएको हो । सानिमा बैंक सह–अगुवा तथा प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक र ग्लोबल आईएमई बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन् ।

सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक पनि लगानीकर्ता बैंकका रूपमा रहेका छन् ।

आयोजनाको बाँध कालीकोटको तिलागुफा नगरपालिका र विद्युत् गृह खाँडाचक्र नगरपालिकामा निर्माण हुनेछ । अर्धजलाशययुक्त आयोजनाले विशेषगरी सुक्खायाममा दैनिक ६ घण्टासम्म उच्च मागको समयमा विद्युत् उत्पादन गर्नेछ ।

आयोजना सञ्चालनमा आएपछि वार्षिक २ हजार ३१८.७९ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

आयोजना निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएपछि अब आयोजना निर्माणमा केन्द्रित हुने कम्पनीले जनाएको छ ।

तिला-२ ले २०७५ भदौ ७ गते नै विद्युत् उत्पादनको अनुमति पाएको थियो । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणसँग २०८१ कात्तिक ७ गते २९६.७४ मेगावाट क्षमताका लागि विद्युत् खरिद–बिक्री सम्झौता गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?