बुद्ध एयरले थप्यो नयाँ एटीआर–७२–६०० विमान, अर्को महिनादेखि नियमित उडान

लोकपथ
21
Shares
फाइल तस्बिर

काठमाडौं । बुद्ध एयरले आफ्नो हवाई बेडामा नयाँ पुस्ताको एटीआर–७२–६०० सिरिजको विमान थपेको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार फ्रान्सको तुलुसबाट ल्याइएको उक्त विमान आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गरेपछि आगामी महिनादेखि नियमित व्यावसायिक उडानमा सञ्चालन गरिनेछ ।

बुद्ध एयरले ९एन–एओएस कलसाइन भएको एटीआर–७२–६०० विमान नेपाल भित्र्याएको हो। कम्पनीका अनुसार यो विमान आधुनिक प्रविधियुक्त पूर्ण ग्लास ककपिट, अत्याधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट प्रणाली तथा उन्नत सुरक्षा प्रणालीले सुसज्जित छ । साथै, कम इन्धन खपत गर्ने भएकाले यो विमान वातावरणमैत्री पनि मानिन्छ ।

यस विमानमा आरएनपी–एआर एप्रोच प्रणाली जडान गरिएको छ । यो प्रविधिको सहयोगमा काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटी भए पनि सुरक्षित रूपमा अवतरण गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी–एआर आधारित उडान प्रक्रिया कार्यान्वयनका लागि अध्ययन गरिरहेको छ । उक्त प्रणाली लागू भएपछि करिब २,००० मिटर भिजिबिलिटी भएको अवस्थामा पनि यस विमानले पोखरामा सुरक्षित उडान र अवतरण गर्न सक्ने अपेक्षा गरिएको छ ।

बुद्ध एयरका अनुसार कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ तथा अवरोध घट्नेछन् । यसले यात्रुको यात्रा अझ सहज, सुरक्षित र भरपर्दो बन्नुका साथै हवाई सेवाको गुणस्तरमा समेत सुधार आउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

हाल प्रयोगमा रहेको इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आईएलएस) प्रक्रियाअनुसार पोखरा विमानस्थलमा अवतरणका लागि ३,१०० मिटर तथा काठमाडौं र भैरहवाका लागि १,६०० मिटर भिजिबिलिटी आवश्यक पर्ने व्यवस्था छ ।

बुद्ध एयरले आगामी अगस्टको अन्त्यतिर अर्को एटीआर–७२–६०० विमान पनि नेपाल ल्याउने तयारी गरेको जनाएको छ । साथै, आगामी केही महिनाभित्र यही सिरिजका थप दुई विमान भित्र्याउने योजना रहेको कम्पनीले जानकारी दिएको छ ।

हाल बुद्ध एयरसँग एक एटीआर–४२–३२०, १५ वटा एटीआर–७२–५०० र एक एटीआर–७२–६०० विमान सञ्चालनमा रहेका छन् । नयाँ विमान थपिएसँगै कम्पनीको सेवा क्षमता, उडान सुरक्षा र सञ्चालन दक्षता थप मजबुत हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?