काठमाडौं । भारतीय अभियन्ता सोनम वाङचुकले २६ दिन लामो अनशन अन्त्य गरेका छन् । भारतमा सार्वजनिक परीक्षाका प्रश्नपत्र चुहावटका घटनाविरुद्ध आन्दोलन गर्दै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै उनी जुन २८ देखि अनशनमा बसेका थिए ।
बिहीबार राति सामाजिक सञ्जाल एक्समार्फत वाङचुकले विभिन्न पक्षसँग भएको लामो छलफल तथा देशमा सम्भावित हिंसाको अवस्थालाई ध्यानमा राख्दै अनशन तोड्ने निर्णय गरेको जानकारी दिएका हुन् । उनले अनशन अन्त्यका सर्त र सहमतिबारे छुट्टै भिडियोमार्फत सार्वजनिक गर्ने बताएका छन् ।
वाङचुकको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट नियन्त्रणका लागि कडा कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरेलगत्तै आएको हो । एक्समा सार्वजनिक भिडियो सम्बोधनमा मोदीले प्रश्नपत्र चुहावटमा संलग्नहरूलाई फास्ट–ट्रयाक अदालतमार्फत कारबाही गर्ने व्यवस्था अघि बढाइने र यस विषयमा शुक्रबार मन्त्रिपरिषद्मा छलफल हुने बताएका छन् ।
प्रधानमन्त्री मोदीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको नाम उल्लेख नगरे पनि प्रश्नपत्र चुहावटका घटनाले लाखौँ विद्यार्थीको भविष्यमा गम्भीर असर परेको स्वीकार गरेका छन् ।
हालै मेडिकल कलेज प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट भएपछि लाखौँ विद्यार्थी पुनः परीक्षा दिन बाध्य भएका थिए । यही घटनालाई केन्द्रमा राख्दै युवा नेतृत्वको ककरोच जनता पार्टी (सीजेपी) ले शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ । वाङचुकले उक्त आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अनशन सुरु गरेका थिए ।
सन् २०२४ मा तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएपछि प्रधानमन्त्री मोदी सरकारले सामना गरेको यो आन्दोलनलाई अहिलेसम्मकै प्रमुख चुनौतीका रूपमा हेरिएको छ । आन्दोलनका क्रममा हजारौँ सीजेपी समर्थकले नयाँ दिल्लीको जन्तर–मन्तरसहित देशका विभिन्न सहरमा निरन्तर प्रदर्शन गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया