काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ र समीक्षा वर्ष २०८२/८३ को क्रस–बोर्डर विद्युत् आयात–निर्यातसम्बन्धी तथ्यांकअनुसार विद्युत् निर्यात उल्लेखनीय रूपमा बढ्दै ऐतिहासिक आम्दानी भएको हो ।
तथ्यांकअनुसार समीक्षा वर्ष २०८२/८३ मा भारत र बंगलादेशतर्फ विद्युत् निर्यातबाट नेपालले कुल २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा नेपालले २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो । समीक्षा वर्षमा भने निर्यात परिमाण ६२.८९ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ ।
नेपालले भारतीय खुला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय विद्युत् व्यापारमार्फत औसत ७ रुपैयाँ ५६ पैसा प्रतियुनिटका दरले विद्युत् बिक्री गरेको प्राधिकरणले जनाएको छ । यसकै परिणामस्वरूप नेपालको विद्युत् निर्यात आम्दानीले नयाँ उचाइ हासिल गरेको हो ।
यता, निर्यात बढेसँगै बाह्य स्रोतबाट हुने विद्युत् आयातमा भने उल्लेख्य गिरावट आएको छ । आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो। समीक्षा वर्ष २०८२/८३ मा आयात परिमाण ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ ।
आयात घटेसँगै कुल आयात खर्च पनि १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२९ प्रतिशत कम हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युत् उत्पादनमा वृद्धि, सीमापार व्यापार विस्तार तथा भारत र बंगलादेशसँगको ऊर्जा सहकार्य प्रभावकारी बन्दै जाँदा नेपाल ऊर्जा निर्याततर्फ थप आत्मनिर्भर र सुदृढ बन्दै गएको संकेत देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया