नेपाल टेलिकम र मौसम विभागबीच पूर्वसूचना एसएमएस सेवा विस्तार सम्झौता

लोकपथ
7
Shares

काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद्को जोखिमसम्बन्धी पूर्वसूचना एसएमएसमार्फत प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा.अर्चना श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार देशभरका जोखिमयुक्त क्षेत्रमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई ११५५ सर्टकोड मार्फत मौसमजन्य विपद्का पूर्वसूचना तथा आवश्यक जानकारी एसएमएसबाट पठाइनेछ ।

यस सेवामार्फत वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात, हिमआँधी, तातो हावाको लहर (लु), शीतलहर, धुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोट तथा डढेलोजस्ता विपद्का पूर्वसूचना समयमै उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ ।

पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले विभिन्न नदी तटीय क्षेत्र तथा सम्भावित जोखिमयुक्त स्थानका एसएमएस पोलिगन र फ्ल्यास फ्लड पोलिगनसहितका नक्सा नेपाल टेलिकमलाई उपलब्ध गराउनेछ। पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली र महाकालीलगायतका नदी तटीय क्षेत्रका नक्सा पनि उपलब्ध गराइने जनाइएको छ ।

त्यसैगरी जिल्लागत, स्थानीय तहगत तथा विशेष जोखिमयुक्त भूभागका नक्सासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ । यसले प्रकोपको प्रकृति, प्रभाव क्षेत्र र जोखिमको स्तर पहिचान गरी लक्षित क्षेत्रमा समयमै सूचना प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल टेलिकमले विपद् पूर्वसूचना एसएमएस सेवा विगतदेखि नै निःशुल्क रूपमा सञ्चालन गर्दै आएको छ । यसका लागि कम्पनीले पहिले उपलब्ध गराउँदै आएको ७०० वटा डाटा सहितको सिममा थप १०० वटा सिम थप्दै अब कुल ८०० वटा निःशुल्क डाटा सिम विभागलाई उपलब्ध गराउने भएको छ ।

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागले २०७३ सालदेखि मौसमजन्य विपद्का पूर्वसूचना एसएमएसमार्फत प्रवाह गर्दै आएका छन् ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भइरहेको यस सेवाबाट लाखौं नागरिक लाभान्वित भएको उल्लेख गर्दै आगामी दिनमा यसको प्रभावकारिता अझ बढ्ने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?