राइड शेयरिङ चालकका सरकारसँग ४ बुँदे माग, सुरक्षा र अधिकार सुनिश्चित गर्न आग्रह

लोकपथ
105
Shares

काठमाडौं । स्वतन्त्र चालक फाउन्डेसनले चालकहरूको समस्या समाधानका लागि सरकारसँग ४ बुँदे माग राखेको छ ।

पठाओ राइडर गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै फाउन्डेसनले सरकार, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, पीडित परिवार र वार्ता टोलीबीच भएको ९ बुँदे सहमतिको स्वागत गरेको छ । फाउन्डेसनले उक्त सहमति छिटो र प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरेको हो ।

फाउन्डेसनले घटनाको निष्पक्ष छानबिन गर्न स्वतन्त्र छानबिन समिति गठन, पीडित परिवारलाई राहत, आश्रित परिवारका सदस्यको शिक्षा र रोजगारीको व्यवस्था तथा दोषीमाथि कानुनी कारबाही गर्न आग्रह गरेको छ ।

सहमति कागजमा मात्र सीमित नभई व्यवहारमा लागू हुनुपर्ने फाउन्डेसनको भनाइ छ । छानबिन प्रतिवेदन निष्पक्ष र पारदर्शी रूपमा सार्वजनिक गरी दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने माग गरिएको छ ।

फाउन्डेसनले राइडरहरूको सुरक्षा र अधिकारमा सरकारले ध्यान दिनुपर्ने बताएको छ । डिजिटल प्लेटफर्ममा काम गर्ने राइडरहरूको कानुनी पहिचान स्पष्ट गर्न, न्यूनतम भाडादर तोक्न, बीमा, दुर्घटना राहत र सामाजिक सुरक्षाको व्यवस्था गर्न पनि माग गरेको छ ।

फाउन्डेसनले ९ बुँदे सहमति कार्यान्वयन हुने र दोषीमाथि कारबाही हुने विश्वास व्यक्त गर्दै राइडर समुदायलाई शान्तिपूर्ण र कानुनी बाटोबाट आफ्ना अधिकारका लागि अघि बढ्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?