सरकारलाई शंकर पोखरेलको प्रश्न : ‘राजनीतिकरण अन्त्य’ केवल नारामात्र हो ?

लोकपथ
35
Shares

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने नाममा सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै पोखरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापाको नियुक्तिपछि सरकारको नियतमाथि प्रश्न उठाएका हुन् ।

उनका अनुसार विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने भन्दै अघि सारिएको अभियान व्यवहारमा भने आफ्ना निकट व्यक्तिहरूलाई जिम्मेवारी दिने अभ्यासमा परिणत भएको छ ।

पोखरेलले राजनीतिकरण अन्त्य गर्ने नाममा अध्यादेशमार्फत रिक्त पदहरू खाली गरिने र त्यसपछि आफूअनुकूल व्यक्तिहरू नियुक्त गरिने प्रवृत्ति देखिएको आरोप समेत लगाएका छन् ।

उनले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने बहानामा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने चर्चा भइरहेका बेला सरकारको वास्तविक उद्देश्य उजागर भएको दाबी गरेका छन् ।

यसअघि प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले बुधबार पूर्वसचिव किशोर थापालाई त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए । उक्त नियुक्तिपछि नै पोखरेलले सरकारको कदममाथि टिप्पणी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?