काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले निजी क्षेत्रमाथि आतंक सिर्जना गरेको आरोप लगाएका छन् ।
विनियोजन विधेयक, २०८३ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सचेतक राईले सरकारको नीतिगत प्रतिवद्धता र व्यवहारबिच ठूलो खाडल देखिएको टिप्पणी गरे ।
राईले सरकारले एकातिर नयाँ चरणको आर्थिक सुधार र निजी क्षेत्रको मनोबल उकास्ने दाबी गर्ने तर अर्कातिर प्रतिष्ठित उद्योगी व्यवसायीहरूलाई विनाकारण धरपकड गरेर त्रसित बनाउने काम गरिरहेको बताए ।
अर्थमन्त्रीको विज्ञता र अन्तर्राष्ट्रिय अनुभवको प्रशंसा गर्दै सचेतक राईले अर्थमन्त्रीका सुधारात्मक योजनाहरू प्रधानमन्त्री कार्यालय र सरकारको गृह प्रशासनका कारण कार्यान्वयन हुन नसकेको आशंका व्यक्त गरे ।
सरकार पहिला थुन्ने अनि मात्र सुन्ने नीतिमा अघि बढेको हो ? भनी प्रश्न गर्दै उनले सरकारको यस्तो कार्यशैलीले सिङ्गो निजी क्षेत्र ‘डिमोरालाइज’ भएको उल्लेख गरे । पुँजी पलायन (क्यापिटल फ्लाइट) को जोखिम बढ्दै गएकोप्रति सचेत गराउँदै राईले निजी क्षेत्रलाई समुन्नतिको इन्जिनका रूपमा स्वीकार गर्न सरकारलाई आग्रह गरे ।
उनले भने, ‘अर्थमन्त्रीज्यू अर्थतन्त्रको जहाज मोडेर नयाँ गति दिन चाहन्छु भन्नुहुन्छ, तर सरकारको व्यवहार निजी क्षेत्रलाई तर्साउने र धम्क्याउने खालको छ । यस्तो अवस्थामा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुनु कोरा कल्पना मात्र हुनेछ । निजी क्षेत्रलाई थुन्ने होइन, कर सहुलियत, प्रशासनिक सहजीकरण र व्यापारिक सहजतामार्फत उद्योग व्यवसाय विस्तारको अवसर दिनुपर्छ ।’
छलफलका क्रममा उनले आफ्नो गृह जिल्लाको चिया निर्यातको समस्या पनि उठाए । छिमेकी मुलुकको अस्थिर नीतिका कारण चिया निर्यात २० प्रतिशतले घटेको र चिया किसान तथा श्रमिकहरू मारमा परेको भन्दै उहाँले सरकारलाई ‘जीटूजी’ (सरकार–सरकारबिचको सम्झौता) मार्फत समस्या समाधान गर्न ध्यानाकर्षण गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया