काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानून निर्माणको विषयलाई अड्कलबाजी वा अन्धविश्वासको आधारमा अघि बढाउन नहुने चेतावनी दिएका छन् ।
कुष्ठरोगको क्षेत्रमा गरिएको विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक तथा नेपाल ल सोसाइटीद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले कानून निर्माणमा सम्बन्धित पक्षको सहभागिता नहुँदा त्यसको कार्यान्वयन प्रभावकारी नहुने अवस्था सिर्जना हुने बताए ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘कानून निर्माणको विषयलाई अडकलको विषय बनाईनु हुन्न । कुष्ठरोगलाई महारोग मानिन्थ्यो र यसलाई छुनै नहुने रोगको रूपमा हेरियो । यस विषयमा विचार नगरीकन कानून बनाइएपछि त्यसका कार्यक्रम, उपचार, पुनर्वास र सामान्यीकरणका सम्भावनाहरू बन्द भएका छन्।’
उनले अन्धविश्वासको भरमा कानून बनाउँदा कुष्ठरोग प्रभावित व्यक्तिहरूलाई उचित सम्मान र जीवनोपयोगी अवसर नदिइएको उल्लेख गर्दै, उनीहरू पनि समाज र राष्ट्रको लागि योगदान गर्न सक्षम रहेको स्मरण गराए ।
श्रेष्ठले सम्बन्धित पक्षसँग अन्तरंग छलफल गरी मात्र कानून निर्माण गर्नुपर्नेमा जोड दिँदै यसरी बनाइएका कानूनले मात्र प्रभावकारी कार्यान्वयनको सम्भावना हुने बताए ।
उनको भने, ‘कुष्ठ निवारण सम्भव छ र प्रभावित व्यक्तिहरूले पनि सम्मानका साथ जीवन बिताएर समाजमा योगदान दिन सक्छन्। यस पक्षलाई नजरअन्दाज गरेर बनाइएको कानूनले अपेक्षित परिणाम दिन सक्दैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया