काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने जनाएको हो । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि प्रभावितको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारको आह्वानमा सहयोग घोषणा गरिएको एनसेलले जनाएको छ ।
एनसेलले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता तथा प्रभावितहरूको शीघ्र उद्धार र राहत व्यवस्थापनको कामना गरेको छ ।
यसैबीच, एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा पनि निःशुल्क उपलब्ध गराएको छ । प्रभावित क्षेत्रमा रहेका एनसेलका ग्राहकलाई तीन दिनसम्म भ्वाइस र डेटा सेवा तथा १०० वटा एसएमएस निःशुल्क उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
यसबाट प्रभावित नागरिकलाई परिवार, आफन्त तथा उद्धार र राहतमा खटिएका टोलीसँग सम्पर्कमा रहन सहज हुने अपेक्षा गरिएको छ ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले विपद्को कठिन समयमा प्रभावित जनताको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताइन् । उनले उद्धार, राहत र पुनःस्थापनाका प्रयासमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउने उद्देश्यले १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको जानकारी दिइन् ।
एनसेलले यसअघि पनि विभिन्न प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता र अवस्थाअनुसार सहयोग तथा सहकार्यलाई निरन्तरता दिने कम्पनीले प्रतिबद्धता जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया