काठमाडौं । सरकारले विपद्का समयमा फैलिने भ्रम तथा अफवाहबाट सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलले बिहीबार बिहान जानकारी दिँदै अबदेखि सरकारले प्रत्येक एक घण्टामा विपद्सम्बन्धी आधिकारिक सूचना सार्वजनिक गर्ने व्यवस्था मिलाएको बताए ।
विभिन्न माध्यमबाट गलत सूचना फैलिँदा नागरिकमा त्रास बढेको गुनासो आएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) मार्फत हरेक घण्टा प्रेस विज्ञप्ति जारी गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
उनका अनुसार विज्ञप्तिमा राहत वितरणको अवस्था, जनशक्ति परिचालन, सवारीसाधन तथा आवश्यक सामग्रीको उपलब्धता र वितरणलगायत पछिल्लो अवस्थाबारे जानकारी समेटिनेछ ।
पौडेलले आधिकारिक निकायबाट जारी सूचनालाई मात्र आधार मान्न आग्रह गरे। उनले भने, ‘हामी मिडियासँग पनि निरन्तर सम्पर्कमा रहन्छौँ। त्यसैले आधिकारिक निकायबाट सम्प्रेषित सूचनालाई मात्र आधार मान्न आम नागरिकमा अनुरोध गर्दछौँ ।’
संकटको समयमा सरकारको आलोचनाभन्दा मानवीय जीवन रक्षालाई प्राथमिकता दिन उनले सबै पक्षलाई आग्रह गरे । निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम, आमा समूह तथा महिला समूहलाई पनि जिम्मेवार भएर विपद् व्यवस्थापन तथा राहत कार्यमा सहयोग गर्न उनले अपिल गरे ।
पौडेलका अनुसार अहिले सरकारको मुख्य प्राथमिकता नागरिकको ज्यान जोगाउनु हो । भौतिक सम्पत्तिमा भएको क्षतिको विस्तृत अध्ययन भने विपद्पछिको आवश्यकता मूल्याङ्कन (पीडीएनए) लगायतका माध्यमबाट पछि गरिनेछ ।
सरकारले संकटपूर्ण अवस्थामा सकारात्मक र सहयोगी भावनाका साथ विपद् व्यवस्थापनमा जुट्न सम्पूर्ण नेपालीलाई अपिल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया