काठमाडौं । मुलुकमा आएको पछिल्लो प्राकृतिक विपत्तिको सामना गर्न संसद्मा रहेका तथा बाहिर रहेका राजनीतिक दलहरूले साझा संकल्पसहित एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी दलहरूले विपद् व्यवस्थापन, खोज तथा उद्धार तथा राहत कार्यमा सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेका छन् । साथै, विपद्पछिको दीर्घकालीन पुनर्निर्माणलाई प्रभावकारी बनाउन संसदीय संयन्त्र निर्माण गर्ने प्रस्तावसमेत अघि सारिएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्तिका बेला सबै राजनीतिक दल एक ठाउँमा उभिने विगतको परम्परालाई निरन्तरता दिँदै वर्तमान संकट समाधानमा केन्द्रित हुने बताए ।
उनका अनुसार बैठकमा सरकारले गरिरहेको खोज, उद्धार तथा राहतका प्रारम्भिक कार्यबारे जानकारी गराइएको थियो । सहभागी राजनीतिक दलहरूले आफूहरूले प्राप्त गरेका सूचना तथा विवरणसमेत सरकारलाई उपलब्ध गराएका थिए ।
थापाले अहिलेको मुख्य प्राथमिकता खोज, उद्धार र तत्काल राहत रहेको बताए । तर विपद्का कारण ठूलो आर्थिक क्षति हुने देखिएकाले दीर्घकालीन पुनर्निर्माणका लागि निरन्तर अनुगमन, सरकारलाई सुझाव तथा राजनीतिक दलहरूको संयुक्त परिचालन आवश्यक रहेको उनको भनाइ छ ।
उनले भने, ‘अहिलेको मुख्य प्राथमिकता खोज, उद्धार र तत्काल राहत नै हो । तर पुनर्निर्माणको काम वर्षौँसम्म चल्ने र यसमा खर्बौँको क्षति हुने देखिएकाले लगातार अनुगमन गर्न, सरकारलाई सुझाव दिन र दलहरूलाई संयुक्त रूपमा परिचालन गर्न संसदीय संयन्त्र आवश्यक छ ।
प्रस्तावित संयन्त्रमा संसद्मा प्रतिनिधित्व नभएका राजनीतिक दललाई समेत सहभागी गराइने थापाले जानकारी दिए । बैठकले विपद्पछिको राहत वितरण तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन संसद्मार्फत विशेष समिति वा संयन्त्र गठन गर्नुपर्नेमा जोड दिएको छ ।
विगतका विपद्का समयमा केही समयपछि प्राथमिकता फेरिँदा पीडितहरू दीर्घकालीन रूपमा अलपत्र पर्ने अवस्था देखिएको उल्लेख गर्दै थापाले यसपटक त्यस्तो अवस्था दोहोरिन नदिन सबै दलले निरन्तर खबरदारी र सहकार्य गर्नुपर्ने बताए ।
बैठकले तत्काल उद्धार तथा राहतसँगै दीर्घकालीन पुनर्निर्माणलाई पनि प्राथमिकतामा राखेर सरकार र राजनीतिक दलहरूबीच सहकार्यलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया