मतदाताले घोषणापत्रका आधारमा उम्मेदवारको छनोट गर्नुपर्छ : महामन्त्री पौडेल

लोकपथ
105
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमा आवधिक निर्वाचन घोषणापत्र–केन्द्रित प्रतिस्पर्धात्मक प्रणालीमा आधारित हुनुपर्ने बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले नेपालमा हालसम्म घोषणापत्रको आधारमा उम्मेदवार छनोट र मतदान गर्ने अभ्यास विकास हुन नसकेको उल्लेख गरे ।

उनका अनुसार राजनीतिक दल र मतदाता दुवैले व्यक्तिको अनुहार, पद वा हैसियतका आधारमा उम्मेदवार छनोट गर्ने प्रवृत्ति त्याग्न नसक्दा नीति केन्द्रित राजनीति कमजोर बनेको छ । ‘उम्मेदवारको छनोट र मतदान घोषणापत्रकै आधारमा हुनुपर्छ,‘उनले भने, ‘त्यसका लागि मतदाता पनि सचेत हुन आवश्यक छ ।’

महामन्त्री पौडेलले राजनीतिक दलहरूबीचको प्रतिस्पर्धा एक–अर्कालाई गाली गरेर होइन, ठोस मुद्दा र कार्यक्रम प्रस्तुत गरेर हुनुपर्नेमा जोड दिए । मर्यादित र मुद्दा–आधारित प्रतिस्पर्धा स्थापित भए मतदाताले कार्यक्रमकै आधारमा मतदान गर्ने विश्वास व्यक्त गरे ।

उनले वर्तमान राजनीतिको मुख्य एजेण्डा आर्थिक क्षमता वृद्धि भएको उल्लेख गर्दै नागरिकले नेतृत्वबाट स्पष्ट आर्थिक अवधारणा र दृष्टिकोण खोजिरहेको बताए । आर्थिक दृष्टिकोण नयाँ बनाउने प्रयास भइरहे पनि अपेक्षित सफलता हासिल हुन नसकेको उनले स्वीकार गरे ।

‘अब प्रतिस्पर्धा गालीमा होइन, राम्रो आर्थिक एजेण्डा र कार्यक्रममार्फत हुनुपर्छ,‘महामन्त्री पौडेलले भने, ‘घोषणापत्र–केन्द्रित प्रतिस्पर्धात्मक प्रणालीलाई गम्भीर रूपमा विकास गर्न सकिरहेका छैनौँ, यही कारण लोकतन्त्रभित्र धेरै गुनासाहरू छन् ।

उनले राजनीतिक दलहरूले कार्यान्वयनमुखी घोषणापत्र बनाउनुपर्नेमा जोड दिँदै नेपाली कांग्रेसले गर्न सक्ने कामहरू मात्रै समावेश गरेर घोषणापत्र तयार गर्न लागेको जानकारी दिए । सुशासन, रोजगारी र आर्थिक विकास कांग्रेसको मुख्य एजेण्डा हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?