इनड्राइभको नयाँ क्याम्पेन ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ सार्वजनिक

लोकपथ
0
Shares

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा यात्रुहरूलाई लक्षित गर्दै नयाँ क्याम्पेन ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ सार्वजनिक गरेको छ ।

यात्रु र चालकबीच आपसी सहमतिमा भाडा निर्धारण गर्ने अवधारणामा आधारित क्याम्पेनले यात्रुलाई भाडा प्रस्ताव गर्ने स्वतन्त्रता दिनुका साथै छिटो, सहज र भरपर्दो सवारी सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई जोड दिएको छ ।

इनड्राइभ एपमार्फत यात्रुहरूले सुझाव गरिएको भाडा हेरेर आफूले तिर्न चाहेको रकम प्रस्ताव गर्न सक्छन् । नजिकै रहेका चालकहरूले उक्त प्रस्ताव स्वीकार गर्न वा वैकल्पिक भाडा प्रस्ताव गर्न सक्छन् । त्यसपछि यात्रुले भाडा, चालक आइपुग्ने अनुमानित समय, चालकको रेटिङ र सवारीसाधनका आधारमा उपयुक्त चालक छनोट गर्न सक्छन् ।

यात्रा सुरु हुनुअघि नै भाडा तय हुने भएकाले यात्रुले तिर्नुपर्ने रकमबारे अग्रिम जानकारी पाउँछन् । यसले दैनिक आवतजावतका क्रममा भाडाको पूर्वजानकारी र छिटो सवारी उपलब्धतालाई प्राथमिकता दिने यात्रुलाई सहज हुने कम्पनीको अपेक्षा छ ।

इनड्राइभको यस प्रणालीले चालकलाई पनि सवारी अनुरोध र भाडासम्बन्धी निर्णयमा स्वतन्त्रता प्रदान गर्छ । चालकले आफूलाई उपयुक्त लागेका अनुरोध स्वीकार गर्न वा प्रस्तावित भाडामा सहमत नभए वैकल्पिक रकम प्रस्ताव गर्न सक्छन् । यसरी दुवै पक्षको सहमतिमा भाडा निर्धारण हुने व्यवस्थालाई क्याम्पेनले मुख्य सन्देश बनाएको छ ।

इनड्राइभका एसिया प्यासिफिक क्षेत्रीय निर्देशक मार्क टलीले काठमाडौंका यात्रुका लागि भाडाको पूर्वजानकारी र समयमै सवारी उपलब्ध हुनु महत्त्वपूर्ण रहेको बताए ।

उनले आपसी सहमतिमा भाडा निर्धारण गर्ने व्यवस्था इनड्राइभको सुरुवातदेखि नै प्रमुख विशेषता रहँदै आएको उल्लेख गर्दै यसले यात्रुलाई भाडा छनोटमा स्वतन्त्रता र चालकलाई आफ्नो आम्दानीसम्बन्धी निर्णयमा सहभागी हुने अवसर प्रदान गर्ने बताए ।

प्यासेन्जर ३६० क्याम्पेनमार्फत नेपालका यात्रुलाई सहज, भरपर्दो र तिरेको रकमअनुसार उचित मूल्य प्राप्त हुने सवारी सेवा उपलब्ध गराउने प्रतिबद्धतालाई थप सुदृढ बनाउन खोजिएको उनको भनाइ छ ।

इनड्राइभकी ब्रान्ड एम्बेसडर तथा अभिनेत्री स्वस्तिमा खड्काले पनि एपको पारदर्शितालाई यसको प्रमुख विशेषता बताइन् । यात्रा सुरु हुनुअघि नै यात्रु र चालकबीच सहमतिमा भाडा तय हुने भएकाले यात्राको अन्त्यमा भाडालाई लिएर असमझदारी हुने सम्भावना कम हुने उनले बताइन् ।

काठमाडौंजस्तो व्यस्त सहरमा भाडाको चिन्ता नगरी ढुक्कसँग यात्रा गर्न पाउनु महत्त्वपूर्ण रहेको उल्लेख गर्दै खड्काले ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ भन्ने सन्देशले आपसी सहमति र विश्वासलाई दर्शाउने बताइन् ।

क्याम्पेनअन्तर्गत इनड्राइभले स्वस्तिमा खड्का अभिनीत नयाँ भिडियोसमेत सार्वजनिक गरेको छ । नेपाली मौलिक संस्कृति झल्काउने संगीत र स्थानीय परिवेश समेटिएको भिडियोमा यात्रु र चालकबीचको आपसी सहमति तथा सन्तुष्टिको सन्देश प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?