पत्रकार सिटौलालाई भेट्न ग्राण्डी पुगे बालेन, केही दिन उपत्यकामै रहने

लोकपथ
819
Shares

काठमाडैं । चुनावी अभियानका क्रममा बेहोस भएका सञ्चारकर्मी दिनेश सिटौलालाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) कर्णाली प्रदेशको यात्रालाई सुर्खेतबाट छोट्याएर शनिबार काठमाडौं आइपुगेका छन् ।

फागुन २१ मा हुने निर्वाचनका लागि (बालेन) सँगै चुनावी अभियानमा रहेका सञ्चारकर्मी सिटौलाको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

शुक्रबार बिहान अछामबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका सिटौलाको टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनलाई ‘हेमोरेजिक स्ट्रोक’ भएको हो । अहिले उनको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

रास्वपा वरिष्ठ नेता शाहसँगै ४३ वर्षीय सिटौला पनि कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला हुँदै रिपोर्टिङका लागि बझाङ पुगेका थिए । शुक्रबार बिहान बझाङबाट अछाम जाँदै गर्दा गाडीबाट ओर्लिने क्रममा लडेर सिटौलाको टाउकोमा चोट लागेको थियो ।

उनलाई तत्कालै जिल्ला अस्पताल अछाममा उपचारका लागि लगिएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी इन्टरनेसनल अस्पताल ल्याइएको थियो । ग्रान्डी अस्पतालका अनुसार मस्तिष्क र यसलाई ढाक्ने झिल्लीबिचको खाली ठाउँमा रक्तश्राव हुँदा यस किसिमको ‘सफ्ट स्ट्रोक’ भएको हो ।

बालेनले सिटौलाको परिवारसँग भेट गरेका छन् । सिटौलाको स्थिति गम्भीर रहेको र भेट्न नमिलेपछि भाइ उमेश सिटौलासँग भेटेर बालेन वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय ‘घण्टीघर’ पुगेका छन् । उनले सिटौलाको स्थिति जटिल रहेको जानकारी पाएको भन्दै आइतबार बिहान ७ बजेसम्म धैर्य गर्न परिवारका सदस्यलाई आग्रह गरेका थिए ।

चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामीका अनुसार टोखास्थित ग्राण्डी अस्पतालका चिकित्सकले शनिबार दिनभरिमा स्वास्थ्यस्थितिका सम्बन्धमा जानकारी दिने बताएका छन् । सिटौला उक्त संघका निवर्तमान अध्यक्ष हुन् ।

बालेन केही दिन काठमाडौंमै रहने अनुमान गरिएको छ । सुर्खेतबाट बालेनसँगै काठमाडौं आएका कलाकार अर्जुन घिमिरे (पाँडे) ले उनी पार्टी सभापति रवि लामिछानेसँगको भेटमा रहेको र सरसल्लाहपछि कहिले उपत्यका बाहिरका कार्यक्रममा जाने भन्ने कुरा तय हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?