काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेताहरुमाथि गरिएको कारबाही पुनरावलोकन गर्न आग्रह गरेका छन् ।
प्रचण्डले महेश्वर दाहाल, हरिबोल गजुरेल लगायतका नेकपाका नेताहरुलाई कारबाही गरेका थिए । त्यसबारे सुझाव दिँदै नेताहरुमाथि निष्काशनको निर्णय पुनरावलोकन गर्न आग्रह गरेका हुन् ।
सिन्धुली क्षेत्र नं २ मा नेकपाका उम्मेदवार राजन दाहालविरुद्ध महेश्वरले उम्मेदवारी दिएपछि प्रचण्डले मिलेर अघि बढ्न भनेका थिए । तर महेश्वरलाई समर्थन गर्दै अघि हरिबोल लगायतका नेताहरुले उम्मेदवारी फिर्ता नलिने अडान लिएपछि प्रचण्डले दुई नेतासहित अन्यलाई समेत कारबाही गर्दै पार्टीबाट निष्काशन गरेका थिए ।
सोबारे सचेत गराउँदै घनश्यामले ‘तपाईँमा कहीँ कतै रक्तरञ्जित इतिहासका महिमाको सम्झना बाँकी छ भने कृपया पछि हट्नुस्, अगाडि बाटो छैन ,’ भनेका छन् ।
घनश्यामले प्रचण्डलाई आग्रह गर्दै भनेका छन् :
कमरेड प्रचण्ड,
हरिबोल गजुरेल र महेश्वर दाहालहरुले तपाईँको अनुशासन उल्लङ्घन गरे होलान्, त्यसको बदलामा अनुशासित र सजिला मानिसहरु भर्ति भैरहेका होलान् । तर नबिर्सिनुस्, तपाईँले आफ्नै जिन्दगीमा गौरव गर्ने केही चिज छ भने त्यो हरिबोल वा महेश्वरहरुजस्ता अप्ठेराहरुले बनाइदिएका हुन् । तपाईँ र तपाईँहरुजस्ता ‘शक्तिशालीहरु’ ले जुन दिनदेखि अप्ठेराहरुको ठाउँमा सजिला र अनुशासित मानिसहरुको भर्ति गर्न थाल्नु भयो तपाईँहरुको गौरवका एक एक गजुरहरु भत्किँदै गए, त्यसको मूल्य हाम्रो समग्र आन्दोलनले भुक्तान गर्दैछ । तपाईँमा कहीँ कतै रक्तरञ्जित इतिहासका महिमाको सम्झना बाँकी छ भने कृपया पछि हट्नुस्, अगाडि बाटो छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया