सशस्त्रमा बडादशैंको टीका  : बस्नेतले चलाए, पौडेलले तोडे

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बडादशैंको अवसरमा ‘कर्तव्यपालना गर्दै कार्यक्षेत्रमा खटिइरहेका बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूलाई टीका लगाउने’ चलनमा यो पटक केही परिमार्जन गरेको छ ।

तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले सशस्त्र मुख्यालयले आयोजना गर्ने बडादशैंको अवसरमा टीका लगाइदिने कार्यक्रममा २०६६ सालदेखि अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई पनि समावेश गर्ने नीति ल्याएका थिए । एआईजीहरूसँग पनि टीका लगाउन इच्छुकहरूलाई घर घरमा जान असहज हुने भन्दै उनले सामूहिकरुपमा टीका लगाइदिने थिति बसालेका थिए । उनको कार्यकालमा पाँच जनासम्म एआईजी थिए ।

जसअनुसार, सशस्त्र प्रहरी महानिरीक्षकसँगै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरूले कर्तव्यपालना गर्दै कार्यक्षेत्रमा खटिइरहेका बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिने गरेका थिए ।

तर, निवर्तमान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको चार बर्से कार्यकालसम्म अर्थात् १६ वर्षसम्म चलेको यो चलनलाई उनकै ब्याची सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले तोडेका हुन् । जबकि, अर्यालको कार्यकालमा पौडेल आफै पनि टीका लगाइदिन सशस्त्र प्रहरी महानिरीक्षकको निवास शरद भवनमा जाने गर्थे । 

सशस्त्र प्रहरीको वेबसाइटमा ‘सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले कर्तव्यपालना गर्दै कार्यक्षेत्रमा खटिइरहेका बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूलाई अभिभावकत्व प्रदान गर्दै दशैंको टीका तथा जमरा प्रदान गरेको’ उल्लेख छ । 

स्रोतका अनुसार, संगठन प्रमुखको हैसियतमा संगठन प्रमुखकै निवासमा टीका लगाइदिने भएकाले यो पटक विगतको परम्परालाई निरन्तरता नदिइएको हो । नेपाली सेना र नेपाल प्रहरीमा पनि संगठन प्रमुखले मात्रै टीका लगाइदिने चलन भएकाले पनि सशस्त्रमा १६ वर्षदेखिको चलन हटाइएको हो । 

यदि विगतको परम्परा कायम भएको भए सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडामगरले पनि उपस्थितहरूलाई टीका तथा जमरा प्रदान गर्ने अवसर पाउँथे । उनले गतवर्ष भने टीका लगाइदिने अवसर पाएका थिए । यो पटक टीका लगाइदिन नपाउँदा उनी खिन्न देखिएको सहभागी अधिकृतको भनाइ छ ।

सशस्त्र प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी तीन वटा भएपनि अहिले दुई जना मात्र छन् । एआईजी वंशीराज दाहाल बर्खास्तीमा परेसँगै रिक्त भएको दरबन्दी रिक्त छ । ठाडापछिको वरीयताका एआईजी अञ्जनीकुमार पोखरेल भने जुठो परेकाले टीका लगाउने कार्यक्रममा सरिक थिएनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?