चितवन । चितवनमा सहकारी पीडितले आफ्नो बचत रकम फिर्ता नपाएको गुनासो गरेपछि सरकारले उनीहरूलाई न्याय दिलाउन पहल गर्ने जनाएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसहित प्रतिनिधिसभा सदस्य र प्रमुख जिल्ला अधिकारीले सहकारी पीडितका समस्या सुनेका थिए ।
कार्यक्रममा ८४ वर्षीय विष्णुप्रसाद सापकोटाले आफ्नो परिवारको तीन करोड ५० लाख सहकारीमा डुबेको पीडा सुनाए । उनले चार करोडमा घर बिक्री गरेर केही रकम छोराछोरीलाई दिएका थिए भने बाँकी रकम शिवशिखर सहकारीमा बचत गरेका थिए । तर, सहकारीले रकम फिर्ता नगरेपछि बुढेसकालमा आफू समस्यामा परेको उनले बताए ।
त्यस्तै, सडकमा मकै पोलेर बेच्ने र अरूको घरमा काम गरेर पैसा बचत गर्ने सर्वसाधारणले समेत आफ्नो रकम सहकारीले फिर्ता नगरेको गुनासो गरे । एक महिलाले १४ कठ्ठा जग्गा बेचेर सनराइज सहकारीमा राखेको रकमसमेत फिर्ता नपाएको बताइन् ।
भरतपुर–१० का कृष्ण सुवेदीले निर्वाचनमा भोट हाल्नुअघि बचतकर्तालाई न्याय दिलाउन सरकारसँग आग्रह गरे ।
पीडितका गुनासा सुनेपछि मन्त्री रावलले सहकारीसम्बन्धी मुद्दाको छिटो सुनुवाइ गर्न प्रहरीमा छुट्टै डेस्क र अदालतमा विशेष बेन्च स्थापना गर्न पहल गर्ने बताइन् । यसका लागि प्रधानन्यायाधीशसँग छलफल भइरहेको र सर्वोच्च अदालतलाई पनि अनुरोध गरिने उनले जानकारी दिइन् ।
मन्त्री रावलका अनुसार सहकारी सञ्चालकले विदेशमा लगानी गरेको भए त्यस्तो रकम फिर्ता ल्याउन आवश्यक कानुन निर्माण तथा सम्बन्धित निकायसँग समन्वय गर्ने काम भइरहेको छ ।
उनले सहकारी पीडितको समस्या पुरानै भएको बताउँदै यसमा विगतका सरकारको कमजोरी पनि जिम्मेवार रहेको उल्लेख गरिन् । तर, अहिलेको सरकारले पनि समस्याबाट पन्छिन नमिल्ने भन्दै बचतकर्ताको रकम फिर्ता गराउन मन्त्रालयले काम गरिरहेको उनको भनाइ थियो ।
मन्त्रालयले अन्य सम्बन्धित निकायसँग समन्वय गरेर पीडितलाई न्याय दिलाउने र बचत रकम फिर्ता गराउने प्रयास जारी राखेको मन्त्री रावलले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया