सरकार पाँच वर्ष चल्नुपर्छ, गलत काम गरे खबरदारी गर्छौँ : प्रदीप पौडेल

लोकपथ
42
Shares
फाइल तस्बिर

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् ।

नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए । उनले सबै पक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

‘बाटो फरक भए पनि हाम्रो गन्तव्य एउटै हो,’ उनले भने, ‘कांग्रेससँग रिसाएका जनतालाई फेरि आकर्षित गर्न आवश्यक योजना ल्याउँछौँ ।’

पौडेलले पार्टीभित्र एकता कायम गर्ने प्रयास जारी रहने बताउँदै एउटै विषयमा अल्झिएर बस्न नहुने धारणा राखे । कांग्रेसलाई थप सुदृढ र जनताप्रति उत्तरदायी बनाउँदै पार्टीमा रूपान्तरण भएको अनुभूति दिलाउने उनको भनाइ थियो ।

सरकारको स्थिरताबारे धारणा राख्दै महामन्त्री पौडेलले वर्तमान सरकार पाँच वर्षसम्म चल्नुपर्ने बताए । कांग्रेस सरकारको स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै उनले सरकारले गलत काम गरेमा भने निरन्तर खबरदारी गर्ने स्पष्ट पारे ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य दीपक भट्टराई, निवर्तमान केन्द्रीय सदस्य ध्रुव वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत तथा राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश सहमहामन्त्री शङ्कर पन्तलगायतले चाडपर्वले आपसी एकता र सद्भावको भावना विकास गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?