काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २ लाख ४ हजार २०८ जना नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७४ प्रतिशतले बढी हो ।
वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष साउनदेखि असोजसम्म २ लाख ७१६ जनाले श्रम स्वीकृति लिएका थिए। यस वर्ष विदेश जानेको संख्या ३ हजार ४९२ ले बढेको छ ।
महिनागत तथ्यांकअनुसार साउनमा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएका थिए । भदौमा यो संख्या घटेर ६० हजार २ पुगेको थियो भने असोजमा बढेर ७३ हजार ७६५ पुगेको छ ।
असोजमा सबैभन्दा धेरै नेपाली संयुक्त अरब इमिरेट्स (यूएई) गएका छन् । उक्त महिनामा यूएईका लागि २३ हजार ८९९ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, कतारका लागि १४ हजार ८७, साउदी अरेबियाका लागि ८ हजार ३६६, कुवेतका लागि ८ हजार ३०८ र मलेसियाका लागि ६ हजार ३६ जनाले श्रम स्वीकृति लिएका छन् ।
विभागका अनुसार असोजमा श्रम स्वीकृति लिनेमा दक्ष कामदारको संख्या सबैभन्दा बढी छ । यस महिनामा ४० हजार ७०० दक्ष कामदारले श्रम स्वीकृति लिएका छन् । यो कुल संख्याको ५५.२ प्रतिशत हो। त्यस्तै, २० हजार २२८ अदक्ष र १२ हजार ३४२ अर्धदक्ष कामदारले श्रम स्वीकृति लिएका छन् ।
जिल्लागत विवरणअनुसार असोजमा सबैभन्दा धेरै धनुषाका ३ हजार ३२६ जनाले श्रम स्वीकृति लिएका छन् । सिराहाका २ हजार ७२३, मोरङका २ हजार ५७८, महोत्तरीका २ हजार ५३९ र रुपन्देहीका २ हजार ४७४ जना पनि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमा परेका छन् ।
विभागका अनुसार असोजमा ८४८ वटा वैदेशिक रोजगार व्यवसायी संस्थामार्फत कामदार पठाउने प्रक्रिया अघि बढेको छ । समग्रमा, वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढिरहेको भए पनि चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वृद्धिदर भने सीमित देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया