कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, ‘टप टेन’मा को-को परे ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन् ।

सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्कालाई पराजित गर्दै थापाले ६ हजार ५८४ मत प्राप्त गरेका हुन्। उनले कुल मतको ९४.६ प्रतिशत मत प्राप्त गर्दा खड्कीले ३७५ मत अर्थात् ५.४ प्रतिशत मत पाएका छन् ।

महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य, सहमहामन्त्री तथा विभिन्न समूहबाट निर्वाचित केन्द्रीय सदस्यहरू परेका छन् ।

उपलब्ध मतपरिणामअनुसार दोस्रो स्थानमा ललितपुर महानगरपालिकाका मेयरसमेत रहेका खुला केन्द्रीय सदस्य चिरीबाबु महर्जन छन् । उनले ५ हजार ३३० मत अर्थात् ७७.५ प्रतिशत मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा वासना थापा रहेकी छन्। उनले ५ हजार १९३ मत अर्थात् ७४ प्रतिशत मत प्राप्त गरेकी छन् । त्यस्तै, बागमतीबाट महिला केन्द्रीय सदस्यमा निर्वाचित हरिप्रभा खड्गी ५ हजार १२६ मतसहित चौथो स्थानमा रहेकी छन् ।

उनले कुल मतको ७३।८ प्रतिशत मत प्राप्त गरेकी छन् ।

पाँचौँ स्थानमा महिला सहमहामन्त्री प्रतिमा गौतम रहेकी छन्। उनले ५ हजार ११६ मत अर्थात् ७२.९ प्रतिशत मत प्राप्त गरेकी छन् । खुला केन्द्रीय सदस्यमा निर्वाचित निश्कल राई ४ हजार ९५६ मतसहित छैटौँ स्थानमा छन्। उनले ७२ प्रतिशत मत प्राप्त गरेका छन् ।

दलित सहमहामन्त्रीमा निर्वाचित प्रकाश रसाइली ‘स्नेही’ ४ हजार ८०३ मतसहित सातौँ स्थानमा रहेका छन् । उनले ६९.२ प्रतिशत मत प्राप्त गरेका छन्। जनजाति केन्द्रीय सदस्यमा निर्वाचित तीर्थ लामा ४ हजार ८५३ मतसहित आठौँ स्थानमा रहेको विवरणमा उल्लेख छ । उनले ६९।१ प्रतिशत मत प्राप्त गरेका छन् ।

खुला केन्द्रीय सदस्यमा निर्वाचित इन्द्रबहादुर बानियाँ ४ हजार ७३२ मतसहित नवौँ स्थानमा छन् । उनले कुल मतको ६८.८ प्रतिशत मत प्राप्त गरेका छन्। त्यस्तै, गण्डकीबाट ३५ वर्षमुनिका युवामध्ये केन्द्रीय सदस्यमा निर्वाचित इन्जिनियर सुवास पौडेल दशौं स्थानमा छन् । उनले ४ हजार ५४९ मत अर्थात उनले ६५.८ प्रतिशत मत प्राप्त गरेका छन् ।

सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० उम्मेदवार

१. गगनकुमार थापा — सभापति — ६,५८४ मत (९४.६%)
२. चिरीबाबु महर्जन — खुला केन्द्रीय सदस्य — ५,३३० मत (७७.५%)
३. वासना थापा — महिला खुला केन्द्रीय सदस्य ५,१९३ मत (७४%)
४. हरिप्रभा खड्गी — बागमतीबाट महिला केन्द्रीय सदस्य — ५,१२६ मत (७३.८%)
५. प्रतिमा गौतम — महिला सहमहामन्त्री — ५,११६ मत (७२.९%)
६. निश्कल राई — खुला केन्द्रीय सदस्य — ४,९५६ मत (७२%)
७. प्रकाश रसाइली ‘स्नेही’ — दलित सहमहामन्त्री — ४,८०३ मत (६९.२%)
८. तीर्थ लामा — जनजाति केन्द्रीय सदस्य — ४,८५३ मत (६९.१%)
९. इन्द्रबहादुर बानियाँ — खुला केन्द्रीय सदस्य — ४,७३२ मत (६८.८%)
१०. इन्जिनियर सुवास पौडेल — ३५ बर्ष मुनि गण्डकीबाट युवा केन्द्रीय सदस्य — ४,५४९ मत (६५.८%)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?