काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा ३८ अर्ब ५९ करोडको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभागले सार्वजनिक गरेको विवरणअनुसार साउनदेखि मंसिरसम्म स्वीकृत भएका परियोजनामार्फत ३८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको हो ।
समीक्षा अवधिमा कुल ४ सय ३८ वटा विदेशी लगानीसम्बन्धी परियोजना स्वीकृत भएका छन् । परियोजनाको संख्याका आधारमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्र शीर्ष स्थानमा देखिएको छ ।
कुल स्वीकृत परियोजनामध्ये २ सय ३६ वटा आईसीटीसँग सम्बन्धित छन्, जसले आधाभन्दा बढी हिस्सा ओगटेको छ । आइसीटी क्षेत्रको विकाससँगै यसले अगामी दिनमा मुलुकको अर्थतन्त्रमा आफ्नो योगदानलाई बढाउने देखिएको छ ।
यद्यपि लगानी रकमका हिसाबले भने कृषि तथा वनजन्य उद्योग क्षेत्र सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । यस क्षेत्रमा मात्रै करिब २२ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, पर्यटन क्षेत्रले उल्लेख्य स्थान ओगटेको छ, सो क्षेत्रका १ सय ३५ वटा परियोजनामार्फत १० अर्ब रुपैयाँभन्दा बढी लगानी प्रस्ताव आएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ ।
क्षेत्रगत रूपमा हेर्दा पाँच महिनामा कुल लगानी प्रतिबद्धतामध्ये सूचना तथा प्रविधि क्षेत्रमा ५४ प्रतिशत, पर्यटन क्षेत्रमा ३१ प्रतिशत, सेवा क्षेत्रमा ६ प्रतिशत, उत्पादन क्षेत्रमा ६ प्रतिशत र कृषि क्षेत्रमा ३ प्रतिशत रहेको छ । परियोजनाको संख्या धेरै भए पनि आईसीटी क्षेत्रमा आएको लगानी रकम भने करिब १ अर्ब रुपैयाँमै सीमित छ ।
परियोजनाको आकारका आधारमा हेर्दा स्वीकृत ४३८ उद्योगमध्ये ४२३ वटा साना, ८ वटा मझौला र केवल ७ वटा ठुला उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभागकारअनुसार मंसिर महिनामा मात्रै ५६ वटा उद्योगमा करिब १ अर्ब ९१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । तीमध्ये अधिकांश साना उद्योग रहेका छन् । यसै अवधिमा विदेशी लगानीकर्ताले रोयल्टीबापत १ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता लैजान विभागबाट स्वीकृति पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया