काठमाडौं । सर्वोच्च अदालतमा आज (मंगलबार)देखि रिट दर्ता खुल्ने भएको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीपछि स्थगित रिट दर्ता प्रक्रिया आजदेखि पुनः सुरु हुन लागेको हो ।
असोज २६ गते बसेको पूर्ण बैठकको निर्णयअनुसार, हालसम्म बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन मात्र दर्ता र सुनुवाइ हुँदै आएकोमा अबदेखि रिट निवेदनहरू पनि दर्ता र सुनुवाइ हुने सर्वोच्चले जनाएको छ ।
सर्वोच्चले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अन्तर्गतका निवेदनहरू दर्ता गर्न पाउने व्यवस्था मिलाएको छ ।
यसअघि आगजनीपछि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसहित अत्यावश्यक मुद्दाको सुनुवाइ टेन्ट टाँगेर गर्दै आएको थियो ।
नियमित अन्य सेवा प्रवाह भने अर्को सूचना जारी नहुँदासम्म स्थगित रहनेछ । सर्वोच्चले जारी गरेको सूचनामा म्याद, हदम्याद र तारेख नगुज्रने उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया