पत्रकारमाथि प्रहरी धरपकडबारे संसदीय छानबिन समिति बनाउन कांग्रेसको माग

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकारमाथि भएको धरपकड र यससँग जोडिएका सरकारी गतिविधिको निष्पक्ष छानबिन गर्न माग गरेको हो ।

कांग्रेसले पत्रकारमाथि धरपकड गर्ने प्रहरी र त्यसका लागि आदेश दिने अधिकारीलाई समेत कानुनी कारबाही गर्नुपर्ने बताएको छ ।

कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सरकार संविधान र कानुनभन्दा माथि हुन नसक्ने बताइन् । उनले पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र विधिको शासनमाथि प्रश्न उठाएको बताइन् ।

कांग्रेसका अनुसार स्पष्ट कानुनी आधार र अदालतको अनुमति नदेखाई समाचार कक्षमै प्रहरी प्रवेश गराउनु स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप हो । यसबारे सरकारले जनतालाई जवाफ दिनुपर्ने कांग्रेसको भनाइ छ ।

कांग्रेसले सरकारलाई सही काम र सुशासनका विषयमा समर्थन गर्ने तर लोकतन्त्र, प्रेस स्वतन्त्रता र विधिको शासनविरुद्धका गतिविधिको विरोध गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?