बाजुराका दुई अलपत्र पुलको ठेक्का रद्द, निर्माण प्रक्रिया पुनः अघि बढाइँदै

लोकपथ
0
Shares
फाइल तस्बिर

बाजुरा । वर्षौँदेखि अलपत्र अवस्थामा रहेका बाजुराका दुई महत्वपूर्ण पुलको ठेक्का रद्द भएपछि निर्माण प्रक्रिया पुनः अघि बढाइएको छ । बूढीगङ्गा नदीमाथिको मौरे पुल र बडीमालिका नगरपालिकास्थित ठूलीसाँघु खोलाको पुल निर्माणका लागि नयाँ प्रक्रिया सुरु गरिएको हो ।

निर्धारित समयभित्र निर्माण कार्य सुरु नगरेको भन्दै दुवै पुलको ठेक्का पाएको काठमाडौंस्थित बिकोई बिल्डर्स प्रालिसँगको सम्झौता रद्द गरिएको थियो । महाकाली पुल योजना कार्यालय महेन्द्रनगरले निर्माण कम्पनीलाई कालोसूचीमा राख्नसमेत सिफारिस गरेको थियो ।

बूढीगङ्गा र त्रिवेणी नगरपालिका जोड्ने मौरे पुल निर्माणका लागि २०७८ माघ ११ गते बिकोई बिल्डर्ससँग १६ करोड २१ लाख ७८ हजार ६० रुपैयाँमा सम्झौता भएको थियो । २०८१ फागुनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कम्पनीले काम सुरु नगर्दा आयोजना अलपत्र परेको थियो ।

ठेक्का रद्द गर्ने निर्णयविरुद्ध निर्माण कम्पनी अदालत पुगेको थियो । अदालतले २०८३ साउनमा योजना कार्यालयकै पक्षमा फैसला सुनाएपछि निर्माण प्रक्रिया अघि बढाइएको महाकाली पुल परियोजनाका सूचना अधिकारी रवि शाहले जानकारी दिए ।

बूढीगङ्गा नदीमा पुल नहुँदा वर्षायाममा त्रिवेणी नगरपालिकाको यातायात सम्पर्क विच्छेद हुने गरेको छ । हिउँदमा समेत जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता रहेको नगरप्रमुख कर्णबहादुर थापाले बताए । उनका अनुसार मौरे पुल निर्माण सम्पन्न भएपछि स्थानीयको आवागमन सहज हुनुका साथै बडीमालिका क्षेत्रको धार्मिक तथा पर्यटकीय यात्रामा समेत सुविधा पुग्नेछ ।

यसैगरी, सदरमुकाम मार्तडी नजिकै मार्तडी–घट्मुना सडकखण्डमा पर्ने ठूलीसाँघु खोलाको पुल पनि लामो समयदेखि अलपत्र छ । उक्त पुल निर्माणका लागि २०७७ फागुन १० गते बिकोई बिल्डर्ससँग सम्झौता भएको थियो । ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण गर्न १६ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । २०८१ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि काम अघि बढ्न सकेन ।

ठूलीसाँघु खोलामा पुल नहुँदा वर्षायाममा गौमूल, बडीमालिका र खप्तड छेडेदह गाउँपालिकाका नागरिकले आवागमनमा सास्ती खेप्दै आएका छन् । खोला बढेपछि यातायात सेवा अवरुद्ध हुनुका साथै स्थानीयको दैनिक आवतजावतसमेत प्रभावित हुने गरेको छ ।

महाकाली पुल योजना कार्यालयका सूचना अधिकारी शाहका अनुसार दुवै पुल एउटै प्याकेजअन्तर्गत निर्माण गर्ने सम्झौता भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण ठेक्का रद्द गर्नुपरेको हो । अलपत्र पुलको निर्माण पुनः अघि बढाउन पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको नेपाल पूर्वाधार कम्पनीमार्फत प्रक्रिया सुरु गरिएको छ । यसअघि दुवै आयोजनास्थलमा प्राविधिक टोली खटाएर स्थलगत परीक्षणसमेत गरिएको थियो ।

यसैबीच, बाजुराका अन्य ठूला विकास आयोजना पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण प्रभावित बनेका छन् । पूर्वाधार विकास कार्यालय अछामका अनुसार सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतका मार्तडी–कोल्टी र खप्तड–गैरीखाद–आटीचौर हुँदै मार्तडी जोड्ने सडकको निर्माणले अपेक्षित गति लिन सकेको छैन ।

गत आर्थिक वर्ष २०८२र८३ मा मार्तडी–कोल्टी सडकका लागि विनियोजित २० करोड रुपैयाँ र खप्तड–गैरीखाद–आटीचौर हुँदै मार्तडी जोड्ने सडकका लागि छुट्याइएको १३ करोड ५० लाख रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको थियो । मार्तडी–कोल्टी सडक निर्माणको जिम्मा पीएस बानियाँ निर्माण सेवाले पाएको छ भने अर्को सडक निर्माणको जिम्मेवारी केएसएम केबिसीरतेज जेभी धनगढीले लिएको छ ।

सडक तथा पुल निर्माणमा भइरहेको ढिलाइले स्थानीयको दैनिक जनजीवन प्रभावित हुँदै आएको छ । कृषि उत्पादन बजारसम्म पुर्‍याउन कठिनाइ हुनुका साथै स्वास्थ्य, शिक्षा र अन्य अत्यावश्यक सेवामा समेत समस्या हुने गरेको स्थानीयको गुनासो छ ।

निर्माण व्यवसायीको ढिलासुस्ती, बजेट अभाव, प्राविधिक समस्या तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र अनुगमनको कमीले विकास आयोजना प्रभावित हुने गरेका छन् । ठेक्का सम्झौता गरेर समयमै काम सम्पन्न नगर्ने प्रवृत्तिका कारण सरकारी बजेटसमेत खर्च हुन नसकी फिर्ता हुने अवस्था दोहोरिँदै आएको छ ।

विकास आयोजनाका लागि बजेट विनियोजन गर्नु मात्र पर्याप्त छैन । समयमै निर्माण सम्पन्न गराउन नियमित अनुगमन, निर्माण व्यवसायीलाई जवाफदेही बनाउने तथा वर्षौँदेखि अलपत्र आयोजनालाई प्राथमिकताका साथ अघि बढाउनेतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?