काठमाडौं । सम्भावित विपद्पछि आइ पर्न सक्ने उद्धारका लागि सशस्त्र प्रहरीका २० हजार फौज तैनाथ गरिएको छ । सशस्त्र प्रहरीले देशभर आफ्ना २० हजार प्रहरीलाई तैनाथ गरिएको जनाएको छ ।
सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले सम्भावित विपद्पछिको उद्धारका लागि देशभर २० हजार सशस्त्र प्रहरीका जनशक्ति तैनाथ गरिएको बताएका हुन् ।
सशस्त्र प्रहरीले शुक्रबार साँझदेखि नै आफ्ना प्रहरी कर्मचारीलाई स्ट्याण्डबाई राखेको जनाएको छ । विपद् व्यवस्थापन र उद्धारका लागि सशस्त्रको टोली शुक्रबार साँझदेखि नै काठमाडौं उपत्यका लगायत देशैभरका स्ट्याण्डबाई रहेको सशस्त्रले जनाएको हो ।
सशस्त्र प्रहरीले शुक्रबार साँझ देखि नै काठमाडौं उपत्यकामा पट्रोलिङ तथा माइकिङ सुरु गरिसकेको थियो । सम्भावित जोखिमका क्षेत्र र स्थानमा सशस्त्र प्रहरीको टोली आवश्यक स्रोत र साधनसहित खटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले लोकपथलाई बताए ।

सशस्त्र प्रहरी बलले सम्भावित मनसुनजन्य विपद्लाई ध्यानमा राख्दै शुक्रबार साँझ नै चोभार, बल्खु, बालाजु, माछापोखरी, वनस्थली लगायतका स्थानमा पट्रोलिङ तथा माइकिङ गरेको थियो ।
सशस्त्रको टोली शनिबार बिहानैबाट विशेषगरि खोला किनार तथा डुबान सम्भावित क्षेत्रको पहिचान गरी मोटरबोट, र्याफ्ट बोट, हेभी इक्युपमेन्ट, एम्बुलेन्स लगायतका आवश्यक पूर्वाधारका साथ फिल्डमा खटिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुक्रबार नै सशस्त्रका सबै युनिटलाई आवश्यक पूर्वाधारसहित तयारी अवस्थामा रहन निर्देशन दिएका थिए ।
सम्भावित जोखिम न्यूनीकरणका लागि र विपद्पछिको उद्धारका लागि सशस्त्र प्रहरी बलले देशैभरका युनिटलाई आवश्यक श्रोत साधन सहित तयारी हालतमा राखेको बताएको छ । अहिले सशस्त्र प्रहरीले आफ्ना गोताखोर, विपद् उद्धार तालिमप्राप्त जनशक्ति, र्याफ्ट बोट बोट, मोटरबोट, हेभी इक्युपमेन्ट, मास क्याजुअल्टी भेइकल र एम्बुलेन्स लगायतका पूर्वाधारहरू तयारी अवस्थामा राखिएको जनाएको छ ।
सशस्त्र प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न जोखिम सम्भावित क्षेत्रमा पुगेर त्यहाँका बासिन्दाहरू लाई सुरक्षित रहन माइकिङ गरिरहेका छन् भने तत्काल उद्धारको आवश्यकता परेमा सशस्त्र प्रहरी बलको टोल फ्री नम्बर १११४ मा फोन गर्न समेत माइकिङ मार्फत सूचित गराइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया