काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जेनजी पुस्ताले अघि सारेका मागहरू भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना रहेको बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले देशमा रहेका बेथितिको अन्त्य गरी समृद्धितर्फ अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
मन्त्री घिसिङले युवापुस्ताले देशभित्रै बसेर काम गर्न पाउने वातावरण खोजिरहेको बताउँदै सो चाहना पूरा गर्न सरकार जिम्मेवार हुनुपर्ने धारणा राखे । उनले सुशासनलाई गम्भीरतापूर्वक कार्यान्वयन नगरे ठुलो विद्रोह हुने चेतावनी समेत दिए ।
उनले भने, ‘भ्रष्टाचारको निर्मूल गर्ने, सुशासन कायम गर्ने प्रमुख माग हो । कतै जनताको सेवामा कमी हुन दिनु हुँदैन । कतैपनि अनियमितता वा भ्रष्टाचार क्षम्य हुँदैन । कसैले अनियमितता र भ्रष्टाचारको गन्ध दिए तत्काल कारबाही हुन्छ ।’
मन्त्री घिसिङले प्राधिकरणभित्र पनि कुनै किसिमको अनियमितता सह्य नहुने स्पष्ट पार्दै सबै कर्मचारीलाई जिम्मेवार भएर सुशासन कायम गर्न निर्देशन दिए ।
उनले जोड दिँदै भने, ‘हामीले अब चुक्ने ठाउँ छैन, यदि फेरि त्यस्ता गतिविधि भए ठुलो जनआक्रोश हुने छ, जसले कसैलाई पनि छोड्ने छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया