क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै

लोकपथ
364
Shares

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आएको आगलागीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चारतले भवन पूर्ण रूपमा ध्वस्त भएको छ ।

भवनसँगै त्यहाँ रहेका फर्निचर, कम्प्युटर, महत्वपूर्ण कागजात तथा मन्त्रालय परिसरमा रहेका सवारीसाधन खरानी भएका छन् ।

मन्त्रालयका सचिव डा.विकास देवकोटाका अनुसार, हालसम्म मन्त्रालयको प्राथमिक ध्यान घाइतेको उपचार र अस्पताललाई आवश्यक सामग्री उपलब्ध गराउनमा केन्द्रित छ। ‘भवनका सबै कोठा र सामान जलेर नष्ट भएका छन्, कुनै पनि बाँकी छैन,‘उनले भने।

अस्थायी व्यवस्थापनका लागि मन्त्रालयले पछाडि रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को भवनबाट भोलिदेखि आंशिक रूपमा काम सुरु गर्ने तयारी गरेको छ ।

सामान्य तोडफोड भए पनि उक्त भवन आगोबाट जोगिएको छ। सिंहदरबारमा ठाउँ मिलाएपछि मन्त्रालय त्यहाँ स्थानान्तरण गर्ने योजना रहेको डा। देवकोटाले बताए ।

स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ भने हाल वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ । सचिव देवकोटाले बताए अनुसार, इमेलमा रहेका कागजातहरू प्रिन्ट गरेर आवश्यकताअनुसार काम चलाउने व्यवस्था गरिएको छ । नयाँ नेतृत्व आएपछि थप कामको मार्गनिर्देशन लिन तयार रहिने पनि उनले बताए ।

अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा सुशीला कार्की नियुक्त भइसकेको छ र मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको अवस्थामा, नयाँ स्वास्थ्यमन्त्रीको कार्यकक्षका लागि पनि मन्त्रालयसँग ठाउँ अभाव छ। डा। देवकोटाले एनएचआरसीमा मन्त्रीका लागि एउटा कोठा तयार गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?