सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति उपप्रधानमन्त्री सिंहको चिन्ता

लोकपथ
112
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले भने, ‘बसाइँसराई लगायतका विभिन्न कारणले पहिले विद्यार्थीको चाप भएको सामुदायिक विद्यालयमा अहिले विद्यार्थीको अभाव देखिएको छ । विद्यालयका भौतिक पूर्वाधारहरू उपलब्ध छन्, अब तिनको उचित सदुपयोग गर्दै समयअनुसार सञ्चालन गर्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले नेपालको विद्यार्थीले अब आफूले चाहेका विषय रोजेर अध्ययन गर्न सक्ने बताए । उनले विदेशमा अध्ययन गर्न जानेलाई रोक्न नसकिने तर गुणस्तरीय शिक्षा देशभित्रै उपलब्ध रहेको स्पष्ट पारे ।

साथै उनले विद्यार्थीलाई अनुशासित रहन र प्राप्त अवसरको महत्त्व बुझेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्रीका अनुसार, ‘नेपालको विद्यार्थीको स्तर र अवस्था पहिलेको भन्दा अहिले धेरै फरक छ । राजनीतिमा आएको परिवर्तनले अब तपाईँहरूले आफ्ना इच्छा अनुसार पढ्न पाउनुहुन्छ । पढ्न विदेश जानु पर्दैन । तर जानुपर्‍यो भने त्यसमा रोक लगाउन सकिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?