चन्द्रकुवेर खापुङलाई आईजीपी बनाउने मन्त्रिपरिषद्को निर्णय

लोकपथ
5.5k
Shares

काठमाडौं । नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । 

केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद् बैठकले एआईजी खापुङलाई आईजीपी बनाउने निर्णय गरेको हो । उनलाई भदौ १९ गतेदेखि लागु हुने गरी आईजीपी नियुक्त गरिएको हो ।

प्रहरी महानिरीक्षक दीपक थापा यही भदौ १८ गते अनिवार्य अवकाश हुने भएपछि एक साताअघि नै उनलाई आईजीपी नियुक्त गरिएको हो । आईजीपी थापासँगै एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि अवकाशमा जाने छन् । 

त्यसपछिको एआईजीको वरीयतामा खापुङ छन् । उनलाई वरिष्ठताको आधारमा आईजीपीमा नियुक्त गरिएको हो । खापुङ आफ्नो ब्याचका एक्ला एआईजी हुन् । अरू एआईजी उनीभन्दा जुनियर हुन् ।

खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख छन्। यसअघि प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदा पनि सीआईबीमै कार्यरत रहेका उनी एआईजी भएपछि पनि त्यहीँ पदस्थापन भएका थिए । 

त्यसअघि उनी कोसी प्रदेशको प्रहरी प्रमुख थिए । २०५१ सालमा खुलेको प्रहरी निरीक्षक (इन्सपेक्टरमा) प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला प्रतिस्पर्धा गर्ने मध्ये तेस्रो आईजीपी खापुङ बनेका हुन् ।

उनको पालामा पनि नयाँ प्रहरी ऐन जारी भए उनको सेवाअवधिमा अहिलेको प्रावधान अनुसार ६ महिना थपिनेछ । नभए उनी पनि ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जानेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?