नारायणी कटानको जोखिम न्यूनीकरण गर्न तत्काल र दीर्घकालीन योजना बनाइने

लोकपथ
14
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट नारायणगढ बजार तथा आसपासका बस्तीमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन योजना बनाइने बताएका छन् ।

नारायणी नदी किनारमा रहेको गौरेश्वर पशुपति मन्दिर क्षेत्रको निरीक्षणपछि मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय सरोकारवालासँग छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले नदी कटानको समस्या समाधान गर्न प्राविधिक अध्ययन आवश्यक रहेको भन्दै अध्ययनबिना हचुवाका भरमा निर्णय गर्न नहुने बताए ।

उनले जोखिमबारे जानकारी पाएलगत्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग समन्वय गरेर प्राविधिक टोली पठाइएको जानकारी दिए । टोलीलाई तत्काल गर्न सकिने कामको पहिचान गर्नुका साथै भविष्यमा आउन सक्ने ठूलो बाढीबाट नारायणगढ बजारलाई सुरक्षित राख्ने दीर्घकालीन योजना तयार गर्न निर्देशन दिइएको उनले बताए ।

‘प्राविधिक रूपमा कुनै पनि ठाउँलाई सुरक्षित राख्न सम्भव छ कि छैन भन्ने ठूलो कुरा हो । प्राविधिक अध्ययनविना हचुवाका भरमा गरिएको निर्णयले कसैलाई पनि फाइदा गर्दैन,’ उनले भने ।

लामिछानेले बाढीको जोखिम न्यूनीकरण गर्दा स्थानीयवासीको ज्यान जोगाउने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । ‘यो क्रेडिट लिने कुरा होइन, यो ज्यान बचाउने कुरा हो,’ उनले भने ।

उनले भविष्यमा अहिलेको भन्दा ठूलो बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर नारायणगढ बजारको सुरक्षा योजना बनाउनुपर्ने बताए । प्राविधिक टोलीबाट प्राप्त सुझावलाई सबैले पालना गर्नुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?