कुल विदेशी विनिमय सञ्चिति २७ खर्ब नजिक, ३१ प्रतिशतले वृद्धि

लोकपथ
105
Shares

काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति करिब २७ खर्ब नजिक पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनअनुसार २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रहेको सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २७।७ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये बैंकमा रहेको सञ्चिति ३०.६ प्रतिशतले बढेर २४ खर्ब १४ अर्ब ६४ करोड पुगेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंक बाहेक) सँग रहेको सञ्चिति ३६.६ प्रतिशतले बढ्दै २ खर्ब ६३ अर्ब ४ करोड कायम भएको छ ।

सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । हालको विदेशी विनिमय सञ्चिति आर्थिक वर्ष २०८१/८२ को आयातलाई आधार मान्दा १८.२ महिनासम्मको वस्तु आयात र १५.४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ ।

२०८२ असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.८ प्रतिशत, कुल आयातको १२८.१ प्रतिशत र विस्तृत मुद्राप्रदायको ३४.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष (२०८१ असार मसान्त) यी अनुपात क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९३ प्रतिशत रहेका थिए ।

यस अवधिमा मुलुकको कुल वैदेशिक सम्पत्ति २९ खर्ब २९ अर्ब ६९ करोड र कुल दायित्व २१ खर्ब ४६ अर्ब ४३ करोड रहेको छ । खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७ खर्ब ८३ अर्ब २६ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यो बचत ३ खर्ब ५ अर्ब ८४ करोडमा सीमित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?