काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्षभित्र गैरआवासीय नेपाली (एनआरएनए) नागरिकताको कानुनी समस्या समाधान गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । उनले नागरिकता लिइसकेका नेपालीले पनि त्यसबाट पाउने अधिकार सहज रूपमा प्रयोग गर्न सक्ने व्यवस्था मिलाउन सरकार लागिरहेको बताएका छन् ।
सोमबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्य र बेलायतमा रहेका व्यवसायी तथा समाजसेवी उत्तम नेपालले उपलब्ध गराएको डीएनए किट हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।
उनले विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्ने र नेपालमा लगानी गर्न सहज बनाउने सरकारको योजना रहेको बताए। एनआरएनए नागरिकतासम्बन्धी कानुनी बाधा हटाउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको उनको भनाइ छ ।
परराष्ट्र सचिव अमृत राईले पनि गैरआवासीय नेपाली नागरिकता प्रयोग गर्न देखिएका समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताए । उनका अनुसार करिब ७ हजार ५०० जनाले गैरआवासीय नेपाली नागरिकता लिइसकेका छन् । तर, नागरिकता लिएपछि पनि त्यसको व्यावहारिक प्रयोगमा समस्या हुँदा कतिपयले पुनः एनआरएनए कार्ड प्रयोग गर्नुपर्ने अवस्था आएको छ।
उनले केही नेपाल ऐन संशोधन गरेर यी समस्या समाधान गर्ने प्रयास भइरहेको जानकारी दिए ।
कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले विदेशमा रहेका नेपाली नेपालको विकास र समृद्धिमा योगदान दिन इच्छुक रहेको बताए। नागरिकतासम्बन्धी कानुनी समस्या समाधान भए नेपालमा लगानी गर्न थप सहज हुने उनको भनाइ थियो ।
त्यस्तै, एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको समस्या छिटो समाधान गर्न सरकारसँग माग गरे । उनले नागरिकता वितरण सुरु भए पनि संविधानअनुसार त्यसको अधिकार प्रयोग गर्न नपाउँदा नागरिकता लिइसकेका र लिन चाहने नेपाली निराश भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया