‘कुलिङ पिरियड’ हटाउनेमा गल्ती कसको ? रामहरिले दिए स्पष्टीकरण

लोकपथ
777
Shares

काठमाडौं । आइतबार प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड हटाइएको विषयमा अहिले बहस चलिरहेको छ ।

गत जेठ २ गते राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट उक्त विधेयक पारित भएको थियो । असार १ गते संसदमा पेस भएको उक्त विधेयकमा विशेषतः विशिष्ट कर्मचारीहरुको हकमा को हकमा ‘कुलिङ पिरियड’ राखिएको थियो ।

विधेयकको दफा ८२ को उपदफा ३ मा उक्त कुलिङ पिरियड राखिएको थियो ।

जहाँ भनिएको थियो, ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पुरा नभई कुनै पनि संवैधानिक वा सरकारी नियुक्ति पाउनेछैन ।’

तर प्रतिनिधि सभाबाट पारित गर्दा उक्त बुँदालाई तोडमोड गरेर ‘नेपाल सरकारले नियुक्त गरेको बाहेक नियुक्त हुन पाउने छैन’ भन्ने भाषा राखिएको पाइएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ ।

प्रश्न राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडामाथि नै तेर्सिएपछि भने हलचल मच्चिएको छ । त्यसो त आजै कांग्रेस सांसद समेत रहेका सभापति खतिवडाले सभामुखलाई भेटेर सो विषयमा छानबिन गर्नु माग गरेका छन् ।

त्यसो त उनले आफ्नो दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा समेत सो विषयमा स्पष्टीकरण दिएका छन् ।

उनले त्यसमा आफ्नो कुनै बदनियत नभएको भन्दै सभामुखले छानबिन समिति बनाएर निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘विधेयकको यो दफालाई हामीले हाइलाइटका साथ प्रस्तुत गर्यौँ । कुलिङ पिरियडको यो दफामा यसो यसो गर्ने भनेर हाइलाइट गर्यौँ तर तल समितिका कसैलाई पनि थाहा नपाइकन उपदफा लेखिएछ । उपदफामा के लेखियो भनेर जानकारी भएन, समिति मात्र होइन संसदलाई पनि जानकारी भएन । १५ दिनसम्म संसदमा रहँदा कोही पनि मान्य सदस्यहरुले पनि हेर्नुभएनछ । अनि पारित भइसकेपछि हिजो एकाएक मान्य सभापतिको आग्रहमा अथवा राज्य व्यवस्थाको आग्रहमा कुलिङ पिरियड हटाइएको छ भनेर आएको छ । आज हामीले सभामुखलाई पनि भेटेर कुरा गरेका छौँ ।’

त्यस्तै उनले सो विषयमा छलफल गर्न कानुन र सामान्य प्रशासन मन्त्रालयका सचिवहरुलाई बोलाएको तर दुवै जना छलफलमा नआएको गुनासो समेत गरे ।

‘यसमा कसको गल्ती थियो, छानबिन गरियोस् भनेका छौँ । हामीले कानुन मन्त्रालयका सचिव र सामान्य प्रशासन मन्त्रालयका सचिवहरुलाई पनि तपाईँहरु आउनुस् कसको गल्ती थियो भन्दा उहाँहरुले हिजो हामीसँग कुरा गर्दा आउँछु भन्नुभयो, आज हाम्रो सचिवले फोन गर्दा फोन अफ गरेर उहाँहरु समितिको मिटिङमै आउनुभएन,’ उनले भने ।

त्यस्तै आफूले नेतृत्व गरेका सबै सदस्यहरु त्यसमा एकजुट रहेको बताउँदै त्यसको छानबिनका लागि निरन्तर दबाब दिने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?