काठमाडौं । भारतका पूर्वमेजर जनरल गगनदीप (जीडी) बख्सीले नेपाली जनता राजाको पुनरागमनका लागि आतुर रहेको बताएका छन् ।
बख्सीले सोमबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘नेपाली जनता राजाको पुनरागमनका लागि आतुर छन्, चाहे त्यो कुनै पनि रूपमा होस्, संवैधानिक राजा होस्, सांस्कृतिक राजा होस्, राजनीतिक दलको संरक्षक होस्, जेसुकैको रूपमा होस् ।’
उनले नेपालका राजा जनताका लागि विष्णुको प्रतीक रहेको जनाउँदै नेपालमा हिन्दु राज्य पुनर्स्थापित गर्ने प्रमुख तत्त्व पनि रहेको तर्क गरेका छन् । पूर्वराजाको स्वागतार्थ भएका र्यालीमा योगी आदित्यनाथका पोस्टर पनि देखिएको उल्लेख गर्दै उनले नेपाली जनताको मुक्ति र हिन्दु राज्यको पुनर्स्थापनाका लागि प्रार्थना गरेका छन् ।

नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहको पोखराबाट काठमाडौं फर्कने क्रममा उनको स्वागतमा हजारौँको भीड उपस्थित भएको सन्दर्भलाई जोड्दै बख्सीले भनेका छन्, ‘गत महिना नेपालका धेरै सहर र गाउँहरूमा राजाको समर्थनमा र्यालीहरू भएका छन् । सन् २००७ मा मैले एनडीसी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउँदादेखि नै भन्दै आएको छु–कांग्रेसको नेतृत्वमा भारतले माओवादीहरूलाई नेपालमा सत्तामा आउन र विश्वको एक मात्र हिन्दु राज्यको अन्त्य गर्न मद्दत गरेर ठूलो स्वार्थ हासिल गरेको थियो ।’
उनले भारतीय कांग्रेसको नेतृत्वमा भारतले तत्कालीन माओवादीहरूलाई सत्तामा आउन र विश्वको एक मात्र हिन्दु राज्यको अन्त्य गर्न मद्दत गरेर ठूलो स्वार्थ हासिल गरेको टिप्पणी पनि गरेका छन् । उनले हिजोको प्रदर्शनलाई जोड्दै भनेका छन्, ‘अन्ततः नेपालका जनता माओवादी र कम्युनिस्टहरू विरुद्ध उठेका देखिन्छन्, जसको वफादारी नेपालसँग भन्दा चीनसँग बढी छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया