आर्मीले जित्यो थप पाँच स्वर्ण, चन्द्रकलाले बनाइन नयाँ राष्ट्रिय कीर्तिमान

दाङ । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्समा आज ‘शुक्रवार’ विभागिय क्लब त्रिभुवन आर्मी क्लबले थप ५ स्वर्ण पदक जितेको छ । 

बेलझुण्डीस्थित एथलेटिक्सको ट्रयाक एन्ड फिल्डमा पुलिस क्लबले एक स्वर्ण जित्दा बाँकी ५ स्वर्ण पदक आर्मीले आफ्नो पक्षमा पा-यो । पुलिस क्लबकी चन्द्रकला लामगादेले नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण पदक हात पार्न सफल भइन् । उनले शुक्रवार महिला ज्याभलिन थ्रोमा स्वर्ण जितेकी हुन् ।

चन्द्रकलाले आफ्नै नाममा रहेको कीर्तिमान तोडेकी हुन् । उनले ४४ दशमलब ५ मिटरको नया कीर्तिमान बनाएकी हुन् । 

यसअघि उनको नाममा ४३ दशमलब ९४ मिटरको राष्ट्रिय कीर्तिमान थियो । त्यो कीर्तिमान उनले सातौँ राष्ट्रिय खेलकुदका दौराना बनाएकी थिइन् । साथै उनले महिला शटपुटमा पनि नयाँ कीर्तिमान बनाइ सकेकी छिन् । 

त्यस्तै आर्मीकी लक्ष्मी थारुले ४१ दशमलब २६ मिटर थ्रो गर्दै रजत तथा एपीएफकी सीमाकुमारी थारुले ३८ दशमलब ३० मिटर थ्रो गर्दै कास्य पदक जितिन् । 

यता आर्मी क्लबका लागि भने सरस्वती भट्टराई, टंक कार्की, डिल्ली खत्री, कृष्णा चौधरी र रोहित चौधरीले स्वर्ण पदक दिलाएका हुन् । सरस्वतीले महिला १५ सय मिटर दौड ४ मिनेट ३६ दशमलब ०० सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक जितेकी हुन् । 

प्रदेश ३ की सन्तोषी श्रेष्ठले ४ मिनेट ३७ दशमलब ७ मा दौड पुरा गदैृ रजत तथा एपीएफकी फुलमती रानाले ४ मिनेट ४८ दशमलब ०५ सेकेन्ड दौड पुरा गर्दै कास्य पदक हात पारिन् । 

यता पुरुष १५ सय मिटर दौडको स्वर्ण पदकधारी टंकले निर्धारित दौड ४ मिनेट ०१ दशमलब ८६ सेकेन्डमा पुरा गरे । आर्मी कै उमेश मर्स्याङी मगरले रजत तथा एपीएफका सन्तोष विष्टले कास्य पदक जिते । 

त्यस्तै डिल्ली खत्रीले लङजम्पमा ६ दशमलब ९६ मिटर जम्प गर्दै  स्वर्ण पदक जिते । प्रदेश ३ का भुवन महतोले रजत र पुलिसका गोपाल चौधरीले कास्य पदक हात पारे । महिला लङजम्पमा कृष्णाले  ५ दशमलब २१ मिटर जम्प गर्दै स्वर्ण पदक जितिन् । एपीएफकी शीला चौधरीले रजत तथा प्रदेश ३ की जयरानी चौधरीले कास्य जितिन् । 

पुरुष ज्याभलिन थ्रोको स्वर्ण पदक आर्मीका रोहितले आफ्नो पक्षमा पारे । उनले ५६ दशमलब ५८ मिटर टाढा ज्याभलिन फाल्दै स्वर्ण पदक जितेका हुन् ।   एपीएफका मनोज डगौराले रजत र पुलिसका वीरेन्द्र चौधरीले कास्य पदक प्राप्त गरे । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?