काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चा हुँदै फेरि नयाँ नेकपासम्म पुग्न छलफल भइरहेको बताएका छन् ।
दाङ पुगेर कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समाजवादी क्रान्ति सीधा र सरल नहुने बताए ।
‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो । त्यो हिजोको एकता टिक्न सकेन । फेरि एकताका प्रयास गर्दैछौं । समाजवादी मोर्चाको दस्तावेज टुंगाएका छौं । हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ ।’ उनले भने ।
उनले तल्लो तहसम्म समाजवादी मोर्चा बन्ने बताउँदै एमालेमा पनि एकताका पक्षधरहरू रहेपनि नेतृत्व बाधक रहेको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको पाँचौँ दीक्षान्त समारोहमा सहभागी हुन दाङ आएका हुन् । विविध कारणले १२ वर्षदेखि रोकिएको सो दीक्षान्त समारोहमा भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठी अतिथि वक्ता छन् ।
समारोहमा विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधीमन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्वमुख्यमन्त्रीहरु, प्रदेश सरकारका मन्त्री, जिल्लाबाट निर्वाचित सङ्घीय र प्रदेशसभाका सदस्य नेपाल संस्कृत विश्वविद्यालयका सभासद्हरु लगायतको सहभागिता रहेको छ ।
समारोहमा पाँच सय ७५ विद्यार्थी दीक्षित हुने विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले जानकारी दिएका छन् । कार्यक्रम अहिले जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया