काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सत्ता पक्षका सांसद सरकारको नीति तथा कार्यक्रम समय सापेक्ष भएको र प्रतिपक्षका सांसदले सामयिक नभएको दाबी गरेका छन् ।
आजको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद सुमित्रा बिसीले असामान्य अवस्थामा सामान्य जस्तो गरी नीति तथा कार्यक्रम आएको बताइन् ।
सांसद हरिराम चौधरीले आत्मनिर्भर हुने गरी बजेट व्यवस्था गर्न माग गरेका छन् । सांसदद्वय भगवती न्यौपाने र इन्दिरादेवी गौतमले समसामयिक अवस्थालाई सम्बोधन हुने गरी सरकारको नीति तथा कार्यक्रम आउन नसकेको टिप्पणी गरेका छन् ।
सांसद कृष्णप्रसाद पौडेलले युवा पलायनलाई रोक्ने गरी नीति तथा कार्यक्रम अनुसारको बजेट व्यवस्था गरिनुपर्नेमा जोड दिएका छन् । कुल ५९ दशमलव नौ लाख हेक्टटर कृषियोग्य जमिनमध्ये १० लाख हेक्टर बाँझै रहेकाले त्यसमा खेती हुने व्यवस्था गरे आयात प्रतिस्थापन गर्न सकिने उनको भनाइ थियो ।
सांसद तारामान स्वाँरले अर्थतन्त्रको समस्या बुझेर समाधान गर्ने गरी नीति तथा कार्यक्रम आएको बताए । सांसद जगतबहादुर कार्कीले पर्यटन प्रवर्द्धनबाट नै नेपालको कायापलट हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक जेठ ९ गते मङ्गलबार दिउँसो १ बजे र १ मिनेटमा बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया